किएभ, ३० माघ: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार बिहान किएभमा भएको घातक रुसी ड्रोन र क्षेप्यास्त्र आक्रमणले क्रेमलिनले युक्रेनमा शान्ति स्थापना गर्न चासो नदेखाएको बताउनुभएको छ ।
राजधानीमा विस्फोटको आवाज सुनिएको र भग्नावशेषले भरिएको सडकमा कालो प्लास्टिकले ढाकिएको एक व्यक्तिको शव देखेको एएफपीका पत्रकारहरूले बताएका छन् ।
जेलेन्स्कीले अपार्टमेन्ट, कार्यालय भवन र नागरिक संरचनामा क्षति पु¥याएको उक्त आक्रमणमा एक व्यक्तिको मृत्यु भएको र एक बालकसहित कम्तीमा चार जना घाइते भएको जानकारी गराउनुभएको छ ।
आक्रमणपछि जेलेन्स्कीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शान्तिका लागि तयारी गरिरहेको बुझिँदैन बरू उहाँले थप युक्रेनी नागरिकको हत्या र शहरहरू ध्वस्त पार्ने कार्यलाई निरन्तरता दिइरहनुभएको छ।”
उहाँले भन्नुभयो, “रूसमाथि कडा कदम र दबाबले मात्र यो आतङ्क रोक्न सक्छ । अहिले हामीलाई यो युद्धको न्यायोचित अन्त्यको लडाइँमा हाम्रा सबै साझेदारहरूको एकता र समर्थनको खाँचो छ।”
मस्को, वासिङ्टन र किएभबाट करिब तीन वर्षदेखि जारी रुसी आक्रमणलाई अन्त्य गर्न सकिने वार्ताको सम्भावनालाई लिएर चर्को वक्तव्यबाजी भइरहेका बेला उक्त टिप्पणी आएको हो ।
आपतकालिन सेवाका अनुसार आक्रमणपछि राजधानीका तीन जिल्लामा करिब १२० जना उद्धारकर्मी परिचालन गरिएको र ब्यारेजबाट लागेको आगो निभाइएको छ ।
चेर्निगिभ क्षेत्रको किएभको उत्तरमा रहेका गभर्नर व्याचेस्लाभ चाउसले रूसी सेनाले ब्यारेजमा रहेका ‘महत्वपूर्ण पूर्वाधार’लाई निशाना बनाएको र त्यहाँ दुई जना घाइते भएको बताउनुभएको छ ।
युक्रेनी वायु सेनाले छ वटा क्षेप्यास्त्र खसालेको र इरानी डिजाइनका ड्रोनसहित १२३ ड्रोनमध्ये ७१ वटा ड्रोन खसालेको जनाएको छ ।