काठमाडौँ, १ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीसँग युनिभर्सल पिस फेडेरसनका अन्तर्राष्ट्रिय अध्यक्ष डा चार्ल्स एस याङले आज शिष्टाचार भेट गर्नुभएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटका अवसरमा अध्यक्ष याङले आगामी अप्रिल १० देखि १४ सम्म दक्षिण कोरियामा हुने शान्ति र समृद्धिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनका लागि प्रधानमन्त्री ओलीलाई विशेष अतिथिका रुपमा निमन्त्रणा गर्नुभएको छ ।
सुनहक शान्ति पुरस्कार फाउण्डेसनका अध्यक्षसमेत रहनुभएका याङले नेपाल र कोरियाबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठका अवसरमा उक्त सम्मेलनमा विशेष अतिथिका रुपमा उपस्थित भई सम्बोधन गरिदिनसमेत आग्रह गर्नुभयो ।
साथै उहाँले दुई कोरियाबीचको शान्तिपूर्ण पुनःमिलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभयो । भेटका अवसरमा नेपाल परिवार दलका अध्यक्ष एवं सङ्घीय सांसद एकनाथ ढकालसमेत सहभागी हुनुहुन्थ्यो ।