फागुन २, २०८१ शुक्रबार

मधु शाही
काठमाडौँ, २ फागुन : महाकवि लक्ष्मीप्रसाद देवकोटाले जुन भावमा यो काव्यपङ्क्ति रचना गर्नुभएको थियो, व्यवहारमा ठीक फरक छ । अचेल अधिकांश युवामा उद्देश्य के लिनु, उडी जानु अमेरिका भने जस्तै अवस्था देखिन्छ । तर, विदेसिनेहरुको भीडमा स्वदेशमै आएर आकाश छुने सपना बुन्ने केही युवाको जमात पनि नभएको होइन । 
    
यिनै आकाश चुम्ने सपना देख्ने युवामध्ये, मोहन तामाङ, हिमालय अधिकारी र रुविता मगर हुनुहुन्छ । उहाँहरुलाई यतिबेला न भोक न तीर्खा छ । मात्रै एउटै धुन छ । त्यो हो, ‘गरुण एसआर’ रकेटलाई २०२५ मा भव्य रुपमा शुभारम्भ गर्ने । फरक पृष्ठभूमिबाट आएर एउटै उद्देश्यका साथ रकेट उडाउने उहाँहरु आफूहलाई ‘थ्री इडियट्स’ साथीहरुको सङ्ज्ञा दिन रुचाउनुहुन्छ ।  

    धादिङ पुख्र्यौली घर भई काठमाडौँ बासिन्दा रहेका २२ वर्षे अधिकारी र खोटाङ घर भएका तामाङको भेट मनाङ पदयात्राका क्रममा भएको हो । अधिकारी केही नवीन काम गर्न रुचाउनुहुन्छ । तामाङ सुरुदेखि नै रकेट निर्माण गर्ने उद्देश्यमा तल्लीन हुनुहन्छ । कम बोल्ने, मीठो हास्ने स्वभावका तामाङका ‘रकेट बनाउछु’ भन्ने कुराले चुलबुले अधिकारीलाई सुरुमा त पत्यार पनि लागेन छ । उहाँ खित्का छोडी हाँस्दै भन्नु भएछ, ‘हावा गफ नदिनुहोस् न ।’ 
    
उहाँहरुको पदयात्रा रमाइलो हाँसोसँगै टुङ्गियो । तर, अधिकारीको मनमा भने कताकता कौतुहलता बढ्दै गयो । रकेट बनाउने नै हुन त ? उहाँले काठमाडौँमा तामाङलाई फेरि भेट्नुभयो र तामाङको श्रम देखेर अधिकारी निकै प्रभावित हुनुभयो । उहाँले यो नवीन कार्यमा सहयोगी बन्नुभयो । साउन महिनामा ‘म्याक ट्वान्टी फोर अर्विटल्स’का नामक कम्पनी दर्ता गराएर रकेट निर्माण कार्यको विधिवत् रुप दिनुभयो । 
    
कम्पनीका संस्थापक र कार्यकारी प्रमुख मोहन तामाङ भन्नुहुन्छ, “रकेट त बनायौँ, धन्यवाद मात्रै पायौँ । हामीलाई भावनात्मक मात्रै होइन, आर्थिक सहयोगको जरुरी छ ।”  यसअघि तामाङको नेतृत्वको समूह “स्पेशपोर्ट अमेरिका कपमा २०२१ मा ‘गरुण’ नामक रकेट उडान गर्न पुगेको थियो । विश्वव्यापी रुपमा भएको रकेट प्रतियोगितामा नेपालबाट तामाङको समूह पहिलोपटक सहभागी भएको थियो  र नान्सी स्क्वायर्स अवार्ड पनि पाउन सफल भएको थियो ।  
    
रुविता देशको मुहार परिवर्तन गर्ने सपना बोकेका डा महावीर पुनको संस्थामा के कस्तो काम भइरहेको छ र त्यसमा उहाँलाई के सहयोग पुर्‍याउन सकिन्छ भन्ने उद्देश्य लिएर त्यहाँ पुग्नुभयो । त्यसपछि, रकेट टोलीमा स्रोत योजनाकारका रूपमा जोडिनुभयो र हालसम्म पनि रकेटका प्रोजेक्टहरूमा तीन वर्षदेखि सक्रिय काम गर्दै आउनुभएको छ । “अब सय किलोमिटर उचाइमा रकेट पुर्‍याउने योजना रहेको छ र सन् २०३० भित्र पाँच सय केजीसम्मको स्याटल्याइट बोकी रकेट अन्तरिक्षमै उडान गर्ने तथा व्यावसायिक रूपमा लैजाने उद्देश्य रहेको छ”, मगरले  भन्नुभयो । 
    
तामाङको रकेट निर्माण गर्ने समूहले राष्ट्रिय आविस्कार केन्द्रसँग सहकार्य गरेर हालसम्म १५ वटा रकेट १० किलोमिटरको उचाइमा उडाइसकेको अनुभव छ । टोलीले राष्ट्रिय आविष्कार केन्द्रमा रहेर विद्यार्थी अनुसन्धानका रूपमा परियोजना सञ्चालन गरेको थियो । तीन वर्षको अनुसन्धानपछि, मोहन र रुविता ‘स्टार्टअप’ सुरु गर्ने र व्यावसायिक पक्ष अन्वेषण गर्ने सोचमा पुग्नुभयोे र सम्भावित टोलीको खोजीमा जुट्दा सौभाग्यले हिमालयसँग सम्पर्क जोडियो । “विश्व बजारमा पनि रकेट प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने ठूलो विश्वासका साथ ‘ब्रान्डिङ’ गर्न लागेका छाँै”, तामाङ भन्नुहुन्छ, “अहिले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट)मा बसेर १५ जना पूर्ण र आंशिक रुपमा २०÷२२ जनाको समूहले इन्टर्न गरी काम गरिरहेको छ ।”
    
रकेट बनाएर उडान गर्ने कुरा प्राविधिक रुपमा उहाँहरुलाई सहज भए पनि आर्थिक रुपमा सजिलो छैन । रकेट उडान गर्नेलगायतका गतिविधिका लागि झण्डै रु दुई सय करोडजति अनुमानित खर्च लाग्ने भए पनि त्यसको जोहो भने नभइसकेको बताउँदै उहाँ भन्नुहुन्छ, “यद्यपि उद्देश्य र सपना मरेको छैन । अबको लक्ष्य भनेको एक वर्षभित्र सय किलोमिटरको रकेट अन्तरिक्षमै उडान गर्ने हो ।” 
    
करिब १.५ टनको नवनिर्मित रकेटमा नवीन हाइब्रिड इञ्जिन प्रविधिको प्रयोग गरिएको छ र रकेटले लगभग १० केजी सामान बोक्नसक्ने क्षमताको बनेको छ । सय किलोमिटर उचाइमा उडान भर्ने योजना रहेको छ । नेपालमा रकेट निर्माणका सम्भावना छ भन्ने सकारात्मक सन्देश दिन खोजिएको तामाङले बताउनुभयो । उहाँका अनुसार यो नेपालको पहिलो रकेट उडाउने टोलीले बनाउन लागेको रकेट अन्तरिक्षमा पुग्ने पनि पहिलो नेपाली रकेट हुनेछ । नास्टले रकेट निर्माणमा ठाउँ उपलब्ध गराउन सहयोग गरेको छ । 
    
नेपालको पहिलो हाइब्रिड इञ्जिनमा क्याण्डल वेक्स र लिक्विड अक्सिजनको प्रयोग गरिन्छ र यसको अनुसन्धान कार्य नास्टमा भइरहेको छ । अधिकारीका अनुसार रकेट निर्माण राज्यमा ठोस नीतिको व्यवस्था नहुँदा आफूजस्ता ऊर्जाशील युवा अन्योलमा पर्नुपरेको छ । “नवीन कार्य थाल्ने युवाको प्रोत्साहनमा राज्यले लगानी गर्छ तर रकेट निर्माणका विषयमा न त समाजले बुझेको छ न राज्यले नै”, उहाँ भन्नुहुन्छ, “जे होस् हाम्रो मेहनतले बनेको ‘गरुण एसआर’ नामकरण गरेको रकेट लगभग उड्न लायक भइसकेको छ ।’’
    
यतिबेला उहाँहरु रकेट उडान प्रक्रियामा पु¥याउँदासम्म लाग्ने खर्च जुटाउन दाताहरुमाझ दौडधुपमै व्यस्त देखिनुहुन्छ । कहिले निजी कम्पनीहरुसँग साथ र सहयोगको अपेक्षा लिनुभएको भने कहिले सरकारी संयन्त्र खोज्दै सिंहदरबारका विभिन्न मन्त्रालयमा पुग्नुहुन्छ । केही सातामात्रै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा रकेट गरुडको विशेषताबारे भिडियो प्रदर्शन गरेको थियो ।  
    
व्यापार विषयमा स्नातक गर्नुभएकी मगरले घरबारभन्दा पर नदेख्ने छोरीहरुको धारणा चिर्दै रकेटमा उडान भर्नु निकै चुनौती खेप्नुपर्ने बताउनुभयो । “रकेट बनाउँछु भन्दा धेरैले अचम्मै मान्छन्”, उहाँले भन्नुभयो । देशलाई उद्यमशीलताको धेरै आवश्यकता छ र त्यससँगै महिला उद्यमीलाई पनि समान अवसर र सहयोग प्रदान गरिने हो भने देशको आर्थिक तथा सामाजिक विकासले अझ तीव्र गति लिनसक्छ भन्ने सोचले नै आफूलाई यसतर्फ आकर्षित गराएको उहाँको भनाइ छ । 

व्यापार विषयमा स्नातक पढ्दै गरेका अधिकारीको आधा परिवार अमेरिकामै छन् । १२ देखि १८ वर्षको उमेरमा अधिकांश समय उहाँले अमेरिका नै बिताउनुभयो । उहाँका अनुसार विदेशमा बस्नु भनेको समुन्द्रभित्रको माछा हुनु हो । नेपालमा सानो कामले पनि ठूलो सम्भावना देखाउन सकिने प्रशस्त आधार छन् । त्यही अनुभूतिका साथ अधिकारी अमेरिका छोडेर स्वदेशमै केही गर्ने अठोट लिएर आउनुभयो । उहाँ भन्नुहुन्छ, “अमेरिकामा माछा बन्नुभन्दा आफ्नै देशमा समुन्द्र बनेर रमाउन आएँ ।” 

यसो त उहाँहरुमाझ विदेशी कम्पनीले सँगै सहकार्य गर्ने थुप्रै प्रस्ताव नआएको पनि होइन । “विदेशी कम्पनीमा काम गर्दा सुविधायुक्त जीवन र पैसा दुवै हुन्छ । तर, त्यहाँ एउटा अमूल्य चिज गुम्छ, त्यो हो, राष्ट्रियता”, अधिकारी भन्नुहुन्छ । उहाँले विदेशी कम्पनीको लागि काम गर्दा दुःख आफ्नो हुने रकेटमा नेपालको झण्डा राख्न नपाइने, राष्ट्रियताको कतै उच्चारण गर्न नपाइने शर्त स्वीकार्य नभएको बताउनुभयो । 
    
तामाङसँगै इञ्जिनियरिङ गरेका साथीहरु विदेशमै स्थापित भए । उहाँ १० कक्षामा पढ्दै गर्दा जापान घुम्न जाने अवसर पाउनुभयो, त्यहाँ युवाहरुले देखेको सपना सुनेरै छक्क पर्नुभयो । नेपाली युवाहरु अब के गर्नेभन्दा अमेरिका जाने भन्छन् । अमेरिकाका युवाहरु के गर्ने ? भन्दा आकाश छुने, चन्द्रमा पुग्ने सपना सुनाउँछन् । तामाङ अमेरिका स्थापित हुने शब्दलाई थाती राखेर अन्तरिक्षमा सेटल हुने अभियानमा लाग्नुभयो । त्यो भनेको रकेट निर्माण कार्यमा भरपुर मेहनत गर्नु र यसलाई व्यावसायीकरण गराउनु हो । यही विदेश भ्रमणहरूले तामाङलाई नेपालमा पनि अन्तरिक्ष क्षेत्रलाई अघि बढाउनुपर्ने प्रेरणा दियो, जसले यो कम्पनीको सुरुआत गर्ने हौसला प्रदान ग¥यो ।
    
कम्पनीमार्फत अहिले दुई दर्जन इञ्जिनियरिङ पढेका विद्यार्थीले रोजगार पाएका छन् । यतिमात्रै होइन, भावी लक्ष्यमा दुईदेखि तीन हजार इञ्जिनियरलाई रोजगार दिनसक्ने क्षमताको विस्तार गर्ने उहाँहरुको योजना छ । कम्पनीमार्फत थुप्रै युवाले रोजगारको बाटो सिर्जना गर्न सकिने सम्भावना रकेट निर्माणमा रहेको उहाँको भनाइ छ । इञ्जिनियरिङ पढेका युवा अमेरिका र अस्ट्रेलिया हराउन नपरोस् भनेर कम्पनीमार्फत बेरोजगार युवाले यस कम्पनीमा आफ्नो भविष्य देख्न थालेका छन् ।