काठमाडौँ, २ फागुन : विद्यार्थीलाई आफ्नो गौरवशाली संस्कृतिसँग परिचित गराउने र आफ्नो धर्म, संस्कार, परम्पराबारे बोध गराउने उद्देश्यले आयोजना गरिएको ‘स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा–२०८१’ मा ‘नेपाल बेद विद्याआश्रम’ मा कक्षा १० मा अध्ययनरत विद्यार्थी अच्युत नेपाल प्रथम हुनुभएको छ ।
हिन्दू स्वयंसेवक सङ्घ नेपालले आज टुँडिखेलमा आयोजना गरेको परीक्षामा ‘सहिद स्मारक विद्यालय’ मा कक्षा १२ मा अध्ययनरत लोकराज जैसी द्वितीय र ‘दुर्गा भवानी सेकेन्डरी स्कुल’ मा कक्षा ९ मा अध्ययनरत दिवासना धमला तृतीय हुनुभएको छ । उहाँहरू तीनै जनालाई क्रमशः रू ५१ हजार, ३१ हजार र २१ हजार प्रदान गरिएको छ ।
त्यसैगरी ६६ जना विद्यार्थीलाई सान्त्वना पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि जनही रू एक हजार रहेको छ । परीक्षामा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाबाट करिब पाँच हजार विद्यार्थीले भाग लिएका थिए । परीक्षामा देशको भूगोल, इतिहास, संस्कृति र परम्परासम्बन्धी प्रश्नहरूको उत्तर दिएका थिए ।
सङ्घले आफ्ना समृद्ध सद्ग्रन्थहरू (वेद, उपनिषद्, रामायण, पुराण, गीता आदि) बारे जिज्ञासा जागृत गराउने, आफ्ना विशिष्ट जीवन–मूल्य, नैतिक मान्यताले विद्यार्थी मनलाई सिञ्चित गर्न, मातृभूमि, पुण्यभूमि नेपालको विविधता र त्यसमा निहित एकताबारे ज्ञान प्रसार गर्न, पूर्वजको वैज्ञानिक अनुसन्धान, विज्ञानसम्मत विचार र आविष्कारहरूबारे जानकार बनाउन र मौलिकतामा रहेको विशेषताबारे परिचित गराउँदै लघुताभास र हीनताबोधबाट मुक्त गराउने उद्देश्यले यो परीक्षा विगत १३ वर्षदेखि निरन्तर गर्दै आएको छ ।
सोही अवसरमा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाशरण शर्माले नेपाली शिक्षा प्रणालीलाई ज्ञानसँगै सीपमा परिणत गर्नुपर्नेमा जोड दिनुभयो । सङ्घले आफ्नो पवित्र हिन्दू धर्म, हिन्दू संस्कृति, हिन्दू समाज र हिन्दू राष्ट्रको सर्वाङ्गीण उन्नतिको लक्ष्य लिएर विभिन्न कार्य गर्दै आएको छ ।