कैलाली, २ फागुनः दशौँ राष्ट्रिय खेलकुदका लागि सुदूरपश्चिम प्रदेशको छनोट प्रतियोगितामा कैलाली शीर्षस्थानमा पुगेको छ ।
सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा भइरहेको छनोट प्रतियोगिताअन्तर्गत हालसम्म नतिजा आएका खेलहरूमा कैलाली प्रथम स्थानमा रहेको छ ।
हालसम्म सम्पन्न छनोट प्रतियोगितामा एक सय ७२ स्वर्ण, एक सय ४१ रजत र एक सय ५५ कास्य गरी चार सय ६८ पदकको टुङ्गो लागेको छ । छनोट प्रतियोगितामा कैलालीले सबैभन्दा बढी एक सय ४२ पदक प्राप्त गरेकामा ७५ वटा स्वर्ण पदक रहेका छन् ।
अङ्कतालिकाको दोस्रो स्थानमा रहेको कञ्चनपुरले ६४ स्वर्ण, ४२ रजत र २४ कास्य गरी एक सय ३० पदक प्राप्त गरेको छ । तेस्रो स्थानमा रहँदै डडेल्धुराले नौ स्वर्ण, १० रजत र २४ कास्य पदक प्राप्त गरेको छ ।
प्रदेशका नौ जिल्लाले सहभागिता जनाएको छनोट प्रतियोगिताको चौथो स्थानमा बझाङ रहेको छ । बझाङले नौ स्वर्ण, आठ रजत र १० कास्य पदक पाएको छ । पाँचौँ स्थानमा रहेको बाजुराले छ स्वर्ण, छ रजत र १८ कास्य पदक पाएको छ भने छैटौँ स्थानमा रहेको दार्चुलाले तीन स्वर्ण, नौ रजत र २२ कास्य पदक प्राप्त गरेको छ । बैतडी, डोटी र अछाम क्रमशः सातौँ, आठौँ र नवौँ स्थानमा छन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय ७८ खेलाडीले सहभागिता जनाउनेछन् । यस्तै, चार सय ५० जना निर्णायकहरू पनि सहभागी हुनेछन् ।
सुदूरपश्चिम प्रदेशले दशौँ राष्ट्रिय खेलकुदमा ६१ विधाका खेलहरू गरिरहेको सुदूरपश्चिम खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले जानकारी दिनुभयो ।