काठमाडौँ, २ फागुन : काठमाडौँको कमलपोखरीस्थित एक मःम पसलमा ग्याँस चुहिएर भएको आगलागीमा परी घाइते भएका मध्ये अर्का एक जनाको पनि आज मृत्यु भएको छ ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर भइ हाल काठमाडौँ महानगरपालिका–२८ कमलपोखरी बस्ने २२ वर्षीय प्रदीप तामाङको आज उपचारका क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता दिनेशकुमार आचार्यले जानकारी दिनुभयो ।
उहाँका अनुसार तामाङको अपराह्न कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।
गत बिहीबार कमलपोखरीस्थित सानदार मःम पसलमा ग्याँस चुहिएर आगलागी हुँदा ११ जना घाइते भएका थिए । अहिले आठ जनाको सोही अस्पतालमा उपचार जारी छ ।
यसअघि सोमबार मकवानपुरको मनहरि गाउँपालिका–५ डिल्लीपुरका १८ वर्षीय रविन राई र उदयपुरको कटारी नगरपालिका–८ गालटारका २५ वर्षीय भीमबहादुर घले मगर (नवीन) को उपचारका क्रममा निधन भएको थियो ।