फागुन २, २०८१ शुक्रबार

सुदूरपश्चिम, २ फागुनः सुदूरपश्चिम प्रदेश सरकारको प्रदेश नीति तथा योजना आयोगमा दुई सदस्य नियुक्त हुनुभएको छ ।
 
 आयोगको सदस्यमा नेपाली कांग्रेसबाट धनगढी उपमहानगपालिकाका नृपबहादुर सुनार र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट पुर्चौडी नगरपालिका–५ बैतडीका कर्णबहादुर कुवँर आज नियुक्त हुनुभएको हो ।
 
  नवनियुक्त सदस्यहरुलाई आजै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय धनगढीमा आयोगका उपाध्यक्ष डा जीवन रानाले पद तथा गोपनीयताका शपथग्रहण गराउनुभएको मुख्यमन्त्रीका प्रमुख स्वकीयसचिव प्रयाग खनालले जानकारी दिनुभयो ।
 
 प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले गरेको निर्णयानुसार आयोगको सदस्यमा उहाँहरूलाई नियुक्त गरिएको खनालले बताउनुभयो ।

 गत पुसमा प्रदेश सरकारले आयोगको उपाध्यक्षमा धनगढी उपमहानगरपालिका निवासी डा राना र सदस्यमा कञ्चनपुर भीमदत्त नगरपालिकाका डा हीरा चन्द र डडेलधुरा गन्यापधुरा गाउँपालिकाका शेरबहादुर भण्डारीलाई नियुक्त गरेको थियो ।