फागुन ३, २०८१ शनिबार

अर्घाखाँची, ३ फागुनः यहाँको कारागारमा रहेका कैदीबन्दीलाई आयआयर्जनमा जोड्न ढाका कपडा बुनाइ तालिम सञ्चालन गरिएको छ । कैदीबन्दीलाई सीप विकास गरेर आर्थिक रुपमा आत्मनिर्भर बनाउन ढाका कपडा बुनाइ सीप विकास तालिम सञ्चालन गरिएको हो ।

    घरेलु तथा साना उद्योग कार्यालयको आर्थिक सहयोगमा कैदीबन्दीलाई एकमहिने तालिम सञ्चालन गरिएको कार्यालय प्रमुख दुर्गा न्यौपानेले बताउनुभयो । उहाँका अनुसार सीप सिकेर सीपलाई व्यावसायिक रूपमा प्रयोग गरी अगाडि बढाउन सकिने भएकाले तालिम महत्वपूर्ण छ । सोहीअनुसार सीप आर्जन गर्न प्रमुख न्यौपानेले आग्रह गर्नुभयो ।

    कुनै पनि मानिसले कुनै प्रकारका सीप सिक्नु भनेको ज्ञान बढ्नु, सीप बढ्नु स्वरोजगार बन्नु र व्यक्ति विशेष मात्र नभई राज्यका लागि फाइदाजनक हुने प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले बताउनुभयो । सीपले आत्मबल बढाउने र आर्थिक आयआर्जन गर्न सहज हुने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले बताउनुभयो । सो कारागारमा अहिले ९६ जना कैदीबन्दी छन् । त्यसमध्ये पुरुष ९० र महिला छ रहेको कारागार प्रशासन प्रमुख पोमकला भण्डारीले बताउनुभयो ।