विराटनगर, ३ फागुन: कोशी प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार नागरिक सेवामा समर्पित हुनुपर्नेमा जोड दिनुभएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ आयोजित कोशी प्रदेश सरकारको सातौँ वार्षिकोत्सव समारोहमा उहाँले प्रदेश सरकार जनताको सेवाका क्षेत्रमा दत्तचित भएर लाग्नुपर्छ भन्नुभयो । साथै उहाँले प्रदेशको विकास– निर्माण र शान्ति सुरक्षाका निम्ति पनि चनाखो हुन जरुरी भएको बताउनुभयो ।
प्रदेश प्रमुख खापुङले भन्नुभयो, “सङ्घीयता कार्यान्वयनका निम्ति आवश्यक कानुन बनिरहेका तथा प्रदेश सरकारले आफ्नो कर्तव्य इमानदारीपूर्वक निर्वाह गरिरहेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको छोटो समयमा प्रदेश सरकारले महत्वपूर्ण काम गरेको छ ।”
उहाँले सात वर्षमा भएका विकास–निर्माणका कामलाई समेटेर प्रदेश सरकारले प्रकाशन गरेको पुस्तक पनि सार्वजनिक गर्नुभयो ।
मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार भौतिक विकाससँगै मानव संशाधन विकासमा पनि लागेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकार पुँजी निर्माणसँगै गरिबी घटाउने प्रयासमा छ ।” पुँजी निर्माणका निम्ति आगामी वैशाखमा लगानी सम्मेलन आयोजना गरिने उहाँको कथन थियो ।
मुख्यमन्त्री कार्कीले आगामी एक महिनाभित्र प्रदेश आन्तरिक राजस्व कार्यालय स्थापना गर्न सरकारले नीतिगत आधार बनाएको जानकारी दिँदै प्रदेशका कर्मचारीको वृत्ति विकासमा सघाउन सरकार गम्भीर छ भन्नुभयो ।
सभामुख अम्बरबहादुर विष्टले विविधतायुक्त कोशी प्रदेशमा राजनीतिक स्थायित्व भएमा विकास गर्न असहज नहुने बताउनुभयो । उहाँले सरकारलाई दिगो आम्दानीको खोज र औद्योगिक विकासका निम्ति लगानी गर्न सुझाव दिनुभयो ।
मुख्यसचिव केदारनाथ शर्माले राज्यले सुम्पेको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।