बागमती, ३ फागुनः नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले सामाजिक न्याय र आर्थिक समृद्धिका निम्ति आफ्नो पार्टीले प्रारम्भ गरेको अभियान सफल बन्दै गएको बताउनुभएको छ ।
मकवानपुरको बागमती गाउँपालिका–४ झुरझुरेस्थित सहिद स्मृति रङ्गशालामा आजदेखि सुरु भएको ‘बागमती गोल्डकप’ फुटबल प्रतियोगिताको उद्घाटन गर्नुहुँदै उहाँले सुशासनका, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा आफ्नो पार्टीले थालेको अभियान सफल बन्दै गएको बताउनुभयो ।
“हामीले देशैभरि राष्ट्रिय एकता निर्माणको अभियान थालेका छौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानले देशैभरि नयाँ आशाको किरण देखिएको छ ।” सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेण्डालाई बलियो बनाउँदै आवश्यकताअनुसार सडक, सदन र सरकारका सबै मोर्चाबाट राष्ट्रिय एकताका लागि अगुवाइ गर्ने बताउनुहुँदै अध्यक्ष दाहालले यसमा सबैलाई लामबद्ध हुन आह्वान गर्नुभयो ।
नागरिकलाई स्वस्थ बनाउन र देशको प्रतिष्ठा विश्वव्यापी रुपमा स्थापित गर्न खेलकुदको विकास महत्वपूर्ण भएको उल्लेख गर्नुहुँदै उहाँले स्थानीय सरकारले पनि यसमा ध्यान दिनुपर्छ भन्नुभयो । खेलका कारण देशको प्रतिष्ठा उच्च बनाउन सकिने उहाँको अभिमत थियो ।
बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानको अध्यक्षतामा भएको उक्त कार्यक्रममा बागमती प्रदेशसभा सदस्यहरु प्रेमप्रसाद पुलामी, कुमारी मोक्तान, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितकुमार घलान लगायत उपस्थित हुनुहुन्थ्यो ।
सामाजिक न्याय र आर्थिक समृद्धिका र सर्लाही मैदानमा
उद्घाटन खेलमा बागमती गाउँपालिका र बागमती युथक्लब सर्लाहीबीच प्रतिस्पर्धा भइरहेको छ । बागमती गाउँपालिकाको सहयोगमा आयोजित प्रतियोगितामा ‘ए डिभिजन क्लब’का सात र मोफसलका तीन टोली सहभागी छन् ।
गाउँपालिकाको लागनीमा रङ्गशाला
बागमती गाउँपालिकाले वडा नं ४ झुरझुरेमा सहिद स्मृति फुटबल रङ्गशाला रु तीन करोड ६० लाख ८८ हजारको लागतमा प्यारापिटसहित सुविधासम्पन्न निर्माण गरेको हो । बाइस हजार ९२५ वर्गमिटरमा निर्माण भएको रङ्गशालाको क्षमता दुई हजार ५०० दर्शको छ ।