फागुन ३, २०८१ शनिबार

गण्डकी, ३ फागुनः पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा घाइते हुनुभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरप्रमुख धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । 

    रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि बेलुन पड्किएको थियो । बेलुनको आगोका कारण अर्थमन्त्री पौडेल र महानगर प्रमुख आचार्य घाइते हुनुभएको थियो ।

अर्थमन्त्री पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित अस्पतालमा लगिएको नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिनुुभयो । मन्त्री पौडेललाई गण्डकी मेडिकल कलेज शिक्षण अस्पतालबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलतर्फ एम्बुलेन्सबाट लगिएको थियो । मन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा क्षति पुगेको जनाइएको छ । 

    महानगर प्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल अस्पताल लगिएकोमा थप उपचारका लागि काठमाडौँ पठाइएको उहाँका प्रेस संयोजक भीम थापाले जानकारी दिनुुभयो । महानगरप्रमुख आचार्यको अनुहार तथा गालामा क्षति पुगेको छ ।