फागुन ४, २०८१ आइतबार

काठमाडौँ, ४ फागुन : एक दशकदेखि रङ्ग संयोजनमा सक्रिय रहनुभएका जुनिम गहतराजको निर्देशनमा तयार भएको चलचित्र ‘ताण्डवम्’ को श्रव्यदृश्य सार्वजनिक गरिएको छ । 

चलचित्रका निर्देशक गहतराजले आफ्नो पहिलो सन्तानको स्वागतमा रहेको नवविवाहित जोडीको जीवनमा अकल्पनीय घटनाले निम्त्याउने घटनाक्रमलाई चलचित्रको विषय बनाइएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “रङ्ग संयोजनमार्फत चलचित्र क्षेत्रमा सक्रिय भए  पनि मैले निर्देशक विधा पनि अध्यन गरेको छु । विचार मिल्दो समूह जुटेका कारणले मैले निर्देशकको रूपमा अगाडि बढ्ने योजना बनाएको हुँ । सुरुमा नेपालमा बनिरहेका भन्दा फरक चलचित्र दर्शकसामु ल्याउँदै छु ।”

निर्देशक गहतराजले पारिवारिकसँगै ‘एक्सन थ्रिलर’ विधामा तयार भएको सो चलचित्रले दर्शकलाई नयाँपन दिने बताउनुभयो । यसमा पुष्कर गुरुङ, प्रेम सुब्बा, सरिना मगर, अङ्कित खड्का, अनोज पाण्डेलगायत कलाकारले अभिनय गर्नुभएको छ । 

यस चलचित्रमा हरि घले लामाले छायाङ्कन, सम्राट बस्नेतले द्वन्द्व निर्देशन, सुशान्त गौतमको सङ्गीत र कोबिद बज्रले पाश्र्वसङ्गीत सृजना, अनिरुद्ध आत्रेय र हुसेनले पटकथा लेखन गर्नुभएको छ ।