भदौ ७, २०७८ सोमबार

काठमाडौँ, भदौ ७ गते । त्रिभुवन विश्वविद्यालयले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै भदौ महिनामा सञ्चालन गर्ने गरी पूर्वनिर्धारित परीक्षा नियमित रूपमा सञ्चालन गर्ने विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ ।

भदौ ११ गतेबाट स्नातक तहको कानुनतर्फ एलएलबी प्रथम वर्षको परीक्षा सञ्चालन गर्ने विश्वविद्यालयको कार्यतालिका छ । यसपछि स्नातक तह एक वर्षे बीएड र वार्षिक परीक्षा प्रणालीअनुसारको स्नातकोत्तर तहको दोस्रो वर्षको परीक्षा सञ्चालन हुनेछ । यसअघि विश्वविद्यालयले भदौ ५ गतेसम्म प्रकाशित कार्यतालिकाअनुसारको परीक्षा सञ्चालन गर्न सीसीएमसीबाट स्वीकृति लिइएको थियो ।

विश्वविद्यालयमा वार्षिक परीक्षा प्रणालीअन्तर्गत मानविकीतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा साउन २८ गते सकिएको छ । स्नातक तहमा विद्यार्थीले पठनपाठन सुरु गरेको २० महिनापछि उक्त परीक्षा दिएका हुन् । स्नातक तहतर्फ विज्ञान, शिक्षाशास्त्र र व्यवस्थापन सङ्कायतर्फ स्नातक तह प्रथम वर्षको परीक्षा हालै मात्र सकिएको छ । विश्वविद्यालयका अधिकांश शिक्षक, कर्मचारीले कोरोनाविरुद्धको खोप लगाइसकेका र विद्यार्थीलाई खोपको प्रबन्ध मिलाइएकाले विश्वविद्यालयको परीक्षा कार्यक्रम अब नियमित रूपमा सञ्चालन हुने अवस्था जनाइएको छ ।