फागुन ६, २०८१ मंगलबार

पर्वत, ६ फागुनः जिल्लाको जलजला गाउँपालिका–९ बनौँमा व्यावसायिक ओखरखेती सुरुआत गरिएको छ । 

गाउँमा बाँझो रहेको जमिन सदुपयोग गर्दै किसानलाई फलफूलखेतीतर्फ आकर्षित गर्ने उद्देश्यले यस वर्षदेखि व्यावसायिक रूपमा ओखरखेती विस्तार गरिएको हो । युवाको पलायन बढेसँगै बाँझो रहेको जग्गाबाट आम्दानी गर्न ओखरखेती गर्न लागिएको जलजला–९ बनौका वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिनुभयो । आलुखेती गर्ने जनशक्तिसमेत नभएपछि बाँझिदै गएको खेतबारी सदुपयोग गर्नका लागि ओखरखेती विस्तार गर्न लागिएको हो ।  

चालु आर्थिक वर्षमा परीक्षणका रूपमा एक हजार पाँच सय ओखरका बिरुवा रोपिएको छ । मुस्ताङमा रहेको शितोष्ण वागवानी विकास केन्द्र मार्फाबाट बिरुवा ल्याएर किसानलाई वितरण गरिसकिएको छ । गाउँका अधिकांश किसानले आफ्नो जग्गाको क्षेत्रफलअनुसार माग गरेका बिरुवा रोपिसकेको अध्यक्ष पुनले जानकारी दिनुभयो । 

बनौँमा चिसो हावापानी रहेकाले दाँते ओखरको राम्रो सम्भावना रहेको जलजला गाउँपालिकाको कृषि विकास शाखा प्रमुख राजु गौतमले बताउनुभयो । अहिले परीक्षणका रूपमा लगाइएका बिरुवा हुर्कँदै गएमा पुनः अर्को वर्ष किसानको मागका आधारमा खेती विस्तार गरिने उहाँको भनाइ छ । 

दाँते ओखर नगदे बालीका रूपमा रहेको छ । अहिले नेपाली बजारमा छिमेकी मुलुकबाट आयात हुने गर्छ ।  बजारको पनि समस्या नहुने र किसानलाई मनग्य आम्दानीसमेत हुने भएकाले यस वर्षदेखि ओखरखेतीमा किसानलाई आकर्षण गरिएको वडाध्यक्ष पुनको भनाइ छ । एकपटक लगाएपछि वर्षौँसम्म आम्दानी लिन सकिने तथा दीर्घकालीन आयका लागि दाँते ओखर उत्पादनका लागि पहिलोपटक खेती सुरु गरिएको पुनले बताउनुभयो । 

यहाँ बर्सेनि करोडौँको आलु उत्पादन हुने गर्छ । पछिल्लो समय आलु लगाउने किसान पनि पलायन हुँदै गएपछि खेतबारी बाँझो रहने क्रम बढेकाले वडा कार्यालयले नयाँ जुक्ति अपनाएको हो । समुद्री सतहबाट दुई हजार मिटरभन्दा माथिको उचाइमा दाँते ओखर राम्रो हुने भएकोले झण्डै दुई हजार तीन सय मिटरको उचाइमा रहेको बनौँमा यो प्रयास थालिएको उहाँको भनाइ छ । 

किसानले खाडल खनिसकेपछि मात्र बिरुवा वितरण गरिएको हो । अहिले सबैले विरुवा रोपिसकेका छन् । वडाको करिब रु एक लाख लगानीमा बिरुवा खरिद गरिएको थियो । सरकारी दररेटअनुसार बिरुवा किन्दा धेरै महँगो नपर्ने भएकाले थोरै बजेटमा पनि काम गर्न सकिने पुनले बताउनुभयो । एकपटक लगाएपछि दीर्घकालीन रूपमा आम्दानीको स्रोतका रूपमा ओखरखेतीलाई लिन सकिने भएकाले यसमा किसानको माग पनि बढेपछि वडाले ओखरखेतीमा लगानी गरेको अध्यक्ष पुनले बताउनुभयो । 

सामान्य परिश्रममा नै किसानहरूको आम्दानी बढाउन सक्ने विश्वास वडा कार्यालयको छ । अन्य ठाउँमा जस्तो यहाँ पनि बसाइँसराइको क्रम रोकिएको छैन । यहाँका बाँझो जग्गालाई सदुपयोग गर्नको लागि पनि यो बाली राम्रो हुने जलजला गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्यले बताउनुभयो । आचार्यले जलजलाको बाँसखर्कमा सुन्तला विस्तार गरेजस्तै बनौमा ओखर विस्तार गरिने बताउनुभयो ।