धर्मेन्द्र झा
काठमाडौँ, ६ फागुनः देश ७५औँ प्रजातन्त्र दिवसको उत्सवमय उत्साहको सङ्घारमा छ । २००७ साल फागुन ७ गते अर्थात् ७४ वर्षपहिले नेपालले एकतन्त्रीय जहानियाँ राणा शासनबाट मुक्ति प्राप्त गरेर प्रजातान्त्रिक शासनको बाटोमा अग्रसर हुने अवसर प्राप्त गरेको थियो । देशमा हालसम्म जनताका अधिकार सुनिश्चितका सन्दर्भमा जे जति आन्दोलन र क्रान्ति भए ती सबैको जग वास्तवमा २००७ फागुन ७ मा प्राप्त प्रजातन्त्र नै हो ।
प्रजातन्त्र वा लोकतन्त्रको सर्वोत्तम विकल्प प्रजातन्त्र वा लोकतन्त्रलाई नै मानिन्छ । विश्वमा यही मात्र यस्तो शासन शैली हो जसले आफूमा रहेको कमजोरी स्वीकार गर्दछ र जनतालाई अधिकारसम्पन्न बनाउन तथा देशमा विकासको खाका कोर्न आफूलाई सच्याउँछ र आवश्यकताअनुसार परिमार्जन गर्दछ । नेपालको राजनीतिक विकासक्रमको लेखाजोखा गर्ने हो भने २००७ सालमा स्थापित प्रजातन्त्र राष्ट्र निर्माणका सन्दर्भमा महत्वपूर्ण विन्दु भएको कुरामा दुईमत हुन सक्दैन । वास्तविक अर्थमा नेपाल देश बन्ने प्रक्रियाको प्रारम्भ यहीँबाट भयो । शासनका संरचनाहरु बन्न थाले । देशमा पहिलोपटक कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका गठनको औपचारिक प्रक्रिया सुरु भयो । कानुनी शासनको जग बसाउने कार्य थालियो । भौतिक पूर्वाधार निर्माणको आवश्यकता बोध हुन थाल्यो । शिक्षा र स्वास्थ्य पनि देशका लागि आवश्यक विषय हुन् भन्ने ठानियो ।
नेपालको इतिहासमा फागुन ७ को महत्व प्रजातन्त्र दिवसका सन्दर्भमा मात्र छैन, नेपाली सञ्चार र प्रेसका सन्दर्भमा पनि आजको दिनको खास महत्व छ । लोकतन्त्र अथवा प्रजातन्त्रको एक महत्वपूर्ण आधार प्रेसलाई पनि मानिन्छ । संयोग नै मान्नुपर्छ, प्रजातन्त्र स्थापना भएको एक दशकपछि प्रजातन्त्र दिवसकै दिन पारेर नेपाली प्रेसको विकासका दृष्टिले महत्वपूर्ण मानिने राससको स्थापना भएको थियो । ६३ वर्ष पहिले (विसं २०१८ फागुन ७ गते) राष्ट्रिय समाचार समिति (रासस)को जग राखिएको थियो । निजी स्तरमा सञ्चालनमा रहेका नेपाल संवाद समिति र सगरमाथा संवाद समितिलाई गाभेर सरकारको पहलमा राष्ट्रिय संवाद समिति सञ्चालनमा आएको थियो । यही समिति पछि राष्ट्रिय समाचार समितिका रुपमा परिवर्तित भएको हो । केही हदसम्म गोरखापत्रलाई अपवाद मान्ने हो भने नेपालमा विधिवत् संस्थागत रुपमा पत्रकारिताको औपचारिक प्रस्थानविन्दु राससलाई नै मान्न सकिन्छ । आज रासस आफ्नो ६४औँ वार्षिकोत्सव मनाउँदैछ ।
यो लामो कालखण्डमा राससले जनतालाई सुसूचित गर्ने दिशामा अहोरात्र सक्रिय रहँदै काम गरिरहेको छ । आफ्ना सेवामा समयानुकूल स्तरोन्नति र विविधीकरण गर्दै २१औँ शताब्दीको रासस आफूलाई विश्वका अन्य देशका समाचार एजेन्सीजस्तै प्रतिस्पर्धी र प्रभावकारी हुन चाहन्छ । आज राससले नेपाली र अङ्ग्रेजी भाषामा समाचार सम्प्रेषणका साथै यी दुवै भाषामा अन्तरराष्ट्रिय समाचार सम्प्रेषण गर्दछ । राससले फोटो, आलेख, विचार, अन्तर्वार्ता, श्रव्यदृश्य सेवा पनि सञ्चालन गर्दै आइरहेको छ । पछिल्लो समय राससबाट मैथिली, अवधी र नेपाल भाषामा समाचार प्रवाह हुन थालेको छभने पाइलट प्रोजेक्टका रुपमा नेपाली भाषाको समाचार सेवालाई २४ घण्टे बनाइएको छ, अर्थात् राससले २४ घण्टा अनवरत समाचार सम्प्रेषण गर्न थालेको छ । मिडिया सङ्ग्रहालय र बुलेटिन कक्ष स्थापना गरी सर्वसाधारणको अध्ययन–अनुसन्धानका लागि खुला गरिएको छ ।
विसं २००७ भन्दा पहिला नेपालमा सुशासनको कुनै अवधारणा नै थिएन अर्थात् शासनको कुनै सिद्धान्त थिएन भन्दा अतिशयोक्ति नहोला । न कुनै कानुन न कानुनी शासन । न अदालत न न्याय । न विकास न मानव अधिकार । यो सबैको कारण भनेको लोकतान्त्रिक शासनको अभाव थियो । प्रेस संस्थागत नहँुदा शासनको मनपरीतन्त्र थियो । जनताले सूचना पाउन निकै कठिन थियो । सूचनाको अभावमा न शासनको पहुँच जनतासम्म थियो न जनताले नै आफ्ना कुरा शासनसमक्ष पुर्याउन सक्ने भरपर्दो माध्यम उपलब्ध थियो । यही कारण हो, स्थापना भएको एक दशकको अवधिसम्म पनि प्रजातन्त्रले संस्थागत हुने अवसर पाएको थिएन ।
यस्तो परिवेशमा राज्यका सूचना जनतासम्म पुग्ने र जनताका आवश्यकताबारे राज्यले जानकारी प्राप्त गर्ने एक संयन्त्रका रुपमा राससको स्थापना भयो । दूरदराजका ठाउँमा रहेर राससका पत्रकारहरुले समाचार सम्प्रेषण गर्न थालेपछि नेपालमा औपचारिक रुपमा सूचना र सञ्चारको जालोको निर्माण हुन थालेको होभन्दा असान्दर्भिक हुँदैन । यो अलग कुरा हो, राससको सञ्चालन कसरी भयो ? कुन विषय र कस्ता सूचनाको निर्माण र सम्प्रेषणलाई प्राथमिकतामा राखियो ? यो संस्थाको लाभ जनतालाई कति र कसरी प्राप्त भयो ? यी विषयमा फरक तरिकाले बहस गर्न सकिन्छ । त्यसमा केही विमति हुन सक्लान् । तर दोस्रो विश्वयुद्धपछि बिस्तारै तङ्ग्रिँदै गरेको तेस्रो विश्वका राष्ट्रहरुका लागि सूचनाको प्राप्ति र प्रयोगका सन्दर्भमा महत्वपूर्ण बहस प्रारम्भ भएको समयमा अस्तित्वमा आएको राससको सैद्धान्तिक धरातललाई निश्चय पनि कमजोर मान्न सकिन्न ।
अहिले अवस्थामा परिवर्तन आएको छ । अब देशमा राज्य वा सरकार नियन्त्रित सञ्चारमाध्यम मात्र नभएर निजी क्षेत्रका मिडियाको प्रभावकारी उपस्थिति छ । पछिल्लो समयमा नेपालमा लोकतन्त्र संस्थागत हुने अवस्थाको निर्माण भएको छ । माथि चर्चा गरिएअनुसार नै नेपालको लोकतन्त्र क्रमशः परिपक्व हुँदै गएको छ र आवश्यकतानुसार यसले आफूलाई परिवर्तित र परिमार्जित गरिरहेको छ । पछिल्लो पुस्ताको लोकतन्त्रले सुशासनको अवधारणासँगै मानव अधिकार, सङ्घीयता, समावेशी र पहिचान, आवधिक निर्वाचन, सामाजिक न्याय र स्वतन्त्र प्रेसको अवधारणालाई सैद्धान्तिक रुपमै स्वीकार गरेको छ । नेपाल पनि स्वाभाविक रुपमा अपवाद हुन सक्दैन । यहाँ पनि यी अवयवहरुलाई स्वीकार गरिएको छ र पछिल्लो समयमा नेपालको संविधान, २०७२ ले नेपाली लोकतन्त्रलाई नयाँ ढङ्गले परिभाषित गर्ने क्रममा यी अवधारणालाई आत्मसात् गरेको छ ।
नेपालको संविधान, २०७२ मार्फत स्वीकार गरिएको सङ्घीयताको अवधारणाले नेपाली प्रजातन्त्र÷लोकतन्त्रलाई क्रमशः परिष्कृत गर्दै लगेको छ । वास्तवमा लोकतन्त्रलाई ‘अर्थ’ प्रदान गर्न सङ्घीयताको निकै महत्व छ । सङ्घीयता अधिकार तथा शक्तिको विधिवत् विकेन्द्रीकरणको एक मोडल हो, जो लोकतन्त्रमा मात्र सम्भव छ । खासमा पछिल्लो विश्वमा लोकतन्त्रको सबलीकरणका दिशामा सङ्घीयताले निर्णायक भूमिका निर्वाह गर्ने अवधारणा लोकप्रिय बन्दै गएको छ । अधिनायकवादी शासन व्यवस्थामा अधिकार र शक्तिको विकेन्द्रीकरणको अवधारणामा विश्वास गरिँदैन । अधिनायकवादमा विश्वास गर्नेहरु सधैँ शक्तिको केन्द्रीकरण चाहन्छन् ।
पछिल्लो अवस्थामा नेपालको राजनीतिक अवस्थाको विश्लेषणको प्रयत्न गर्ने हो भने विगतमा केन्द्रीय शासनमा निहित शक्ति र अधिकार विकेन्द्रीकरणको अवधारणालाई स्वीकार गर्न थालिएको छ र जनतामा वास्तविक अर्थमा सम्प्रभुता निहित हुने कुरालाई स्वीकार गर्न थालिएको छ । यसको अर्थ हो, नेपालको लोकतन्त्र क्रमशः संस्थागत भइरहेको छ र तल्लो तहसम्मका जनताले लोकतन्त्रको अनुभूत गर्ने वातावरण निर्माण भइरहेको छ । यस्तोमा प्रेसको भूमिका झनै महत्वपूर्ण हुन जान्छ । लोकतन्त्र सुशासनमा आधारित छ र सुशासनको एक प्रमुख आधार पारदर्शिता र उत्तरदायित्व बहन हो । यही पारदर्शिता निर्माण गर्ने सन्दर्भमा प्रेसको निर्णायक भूमिका हुन्छ भन्नु अनुचित हुँदैन । यसमा राज्यको समाचार एजेन्सी, जसलाई समाचार बैङ्क र मिडियाको पनि मिडिया भनिन्छ, राससजस्ता संस्थाहरुको भूमिका झनै महत्वपूर्ण हुन आउँछ । विगत ६४ वर्षदेखि आधिकारिक, मर्यादित, विश्वसनीय र सन्तुलित ढङ्गबाट देश र विदेशका सूचना प्रवाहित गर्दै आएको राससको भूमिकालाई स्वीकार गरेर यसको पहुँच र प्रभावलाई थप प्रभावकारी बनाउनु आवश्यक छ । रासस स्वयं यो दायित्व निर्वाहका लागि तयार र प्रतिबद्ध छ । सरोकारवालाहरुको सहयोगी हातेमालो अपरिहार्य छ ।
पछिल्ला दिनमा परिवर्तन र नागरिक अधिकार संस्थागत भएको देख्न नचाहने समूहबाट राज्य, प्रेस र नागरिक समाजमाथि आक्रमण भइरहेको छ भन्नु अन्यथा नहोला । यसको अर्थ हो, समग्रमा लोकतन्त्रमाथि नै धावा बोल्ने र आघात पु¥याउने जमातको आकार वृद्धि भइरहेको छ । यस्ता समूह खासमा लोकतन्त्र नै क्रियाशील भएको र समाज रुपान्तरण भएको देख्न चाहिरहेका छैनन् । तर रासस समयको वेगलाई पछ्याउन सचेत छ । रासस जनताको सुसूचित हुन पाउने हकको सुनिश्चतताको पक्षमा निरन्तर क्रियाशील छ र यस दिशामा रासस अनेक थरी चुनौतीसँग जुध्न तयार छ । अन्त्यमा, ७५आँै प्रजातन्त्र दिवस र राससको ६४औँ वार्षिकोत्सवका अवसरमा सबैलाई अनन्त शुभकामना । (लेखक श्री धर्मेन्द्र झा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष हुनुहुन्छ)