पेरिस, ६ फागुन : फ्रान्सका राष्ट्रपति इम्मानुएल म्याक्रोनले मङ्गलबार युक्रेनी समकक्षी भोलोदिमर जेलेन्स्कीसँग फोनमा कुराकानी गरेपछि युक्रेनमा शान्ति ‘बलियो र विश्वसनीय सुरक्षा ग्यारेन्टीहरूसँगै हुनुपर्छ’ भन्नुभएको छ ।
“हामी युक्रेनमा बलियो र स्थायी शान्ति चाहन्छौँ । यो हासिल गर्न रुसले आफ्नो आक्रमण अन्त्य गर्नुपर्दछ र यो युक्रेनीहरूका लागि बलियो र विश्वसनीय सुरक्षा ग्यारेन्टीहरूसँगै हुनुपर्दछ”, म्याक्रोनले सामाजिक मिडिया प्लेटफर्म एक्समा भन्नुभयो, “अन्यथा यो युद्धविराम मिन्स्क सम्झौता जस्तै समाप्त हुने जोखिम छ ।” उहाँले सन् २०१४ र २०१५ मा पूर्वी युक्रेनमा द्वन्द्व अन्त्य गर्न खोज्ने सम्झौताहरूको सन्दर्भमा भन्नुभयो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा सुरु गरेको नाटकीय अमेरिकी नीति परिवर्तनको प्रतिक्रियामा छलफल गर्न म्याक्रोनले युरोपेली नेताहरूसँग पेरिसमा आपत्कालीन बैठक आयोजना गरेपछि जेलेन्स्कीसँग फोनवार्ता भएको हो ।
युरोपेली नेताहरूलाई के डर छ भने ट्रम्प रूससँग शान्ति सम्झौता गर्न चाहनुहुन्छ, जुन वार्तामा युरोपेली सङ्घ (इयु) को त कुरै छाडौँ किएभ पनि समावेश हुनेछैन ।
जेलेन्स्कीले आफ्नो सामाजिक मिडिया पोस्टमा म्याक्रोनले उहाँलाई युरोपेली नेताहरूसँगको वार्ताबारे जानकारी गराउनुभएको उल्लेख गर्दै शान्ति कसरी प्राप्त गर्ने भन्नेबारे उहाँहरूको ‘साझा दृष्टिकोण’ रहेको बताउनुभयो ।
“हामी एउटै दृष्टिकोण साझा गर्छौं : सुरक्षा ग्यारेन्टीहरू मजबुत र विश्वसनीय हुनुपर्छ”, उहाँले एक्समा भन्नुभयो, “यस्तो ग्यारेन्टीबिनाको कुनै पनि अन्य निर्णय–जस्तै नाजुक युद्धविराम–रुसले गरेको अर्को छल र युक्रेन वा अन्य युरोपेली राष्ट्रहरू विरुद्धको नयाँ रूसी युद्धको प्रस्तावनाको रूपमा मात्र काम गर्नेछ ।”