फागुन ७, २०८१ बुधबार

काठमाडौँ, ७ फागुनः पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सर्वाङ्गीण विकास र समृद्धिका लागि निरन्तर लाग्न सबै राजनीतिक दल, नागरिक समाज, सरोकार भएका निकायलाई आग्रह गर्नुभएको छ ।

सामाजिक सञ्जाल एक्समार्फत ७५औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले निरङ्कुश जहानियाँ राणाशासनको अन्त्य भई प्रजातन्त्र स्थापना भएको यो दिनमा नेपाल र नेपाली जनताको पक्षमा निरन्तर क्रियाशील रही समृद्धिका लागि एकताबद्ध हुनुपर्ने बताउनुभएको हो । 

“नेपालीको लागि एउटा कोशेढुङ्गा सावित भएको राष्ट्रिय प्रजातन्त्र दिवसको जगमा उभिएर नेपालीलाई बहुदल हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापनासम्मका आन्दोलनमा सफलता हासिल भयो । सम्पूर्ण सहिदहरूको बलिदानलाई उच्च कदर गर्दै नेपालको सर्वाङ्गीण विकास र समृद्धिका लागि निरन्तर सङ्घर्षरत रहन सबै राजनीतिक दल, नागरिक समाज, सरोकारवाला निकाय र हामी सबै नेपालीलाई मिल्ने छ भन्ने मैले विश्वास लिएकी छु । प्रजातन्त्र स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा आफ्नो अमूल्य जीवन गुमाउनुहुने सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु”, पूर्वराष्ट्रपति भण्डारीले एक्समा लेख्नुभएको छ ।