फागुन ७, २०८१ बुधबार

– श्रीरामसिंह बस्नेत
काठमाडौं, ७ फागुन : समयले धेरै नेटो काटिसकेको छ । राजनीतिक, आर्थिक, सामाजिक, वैचारिक, प्राविधिकलगायत हरेक क्षेत्रमा परिवर्तनको लहर चलिरहेको छ । आज हरेक क्षेत्र ठूला अवसर र चुनौतीको दोसाँधमा उभिएका छन् । सिङ्गै पत्रकारिता क्षेत्रमा परिवर्तनको प्रभाव टड्कारो देखिएको छभने समाचार समिति पत्रकारिता (एजेन्सी जर्नालिज्म)मात्र यसबाट अलग रहन नसक्नु स्वाभाविकै हो । हरेक युगमा परिवर्तन अवश्यम्भावी नै हुन्छ । प्रश्न त्यसलाई कसरी लिने र सदुपयोग गर्ने भन्नेमात्र हो । यस परिप्रेक्ष्यमा समाचार समिति पत्रकारिता र नेपालको सन्दर्भमा राष्ट्रिय समाचार समिति (रासस)को आगामी बाटोबारे गम्भीरतापूर्वक घोत्लिनु समयको माग हो ।

छ दशकभन्दा लामो अवधिदेखि अनवरत क्रियाशील रासस आफैँमा एउटा राष्ट्रिय धरोहर हो । तर यही गौरवमा मात्र रमाएर आउँदा दिनहरूप्रति निश्चिन्त रहने सुविधा वा छुट राससलाई छैन र हुनु पनि हुँदैन । त्यसैले अवसर र चुनौतीको सँघारमा उभिएर हरेक चुनौतीहरूलाई अवसरमा परिणत गर्न सक्ने क्षमताको विकास गर्नु नै राससको आजको मूल दायित्व हो । त्यसका लागि राससले केही महत्त्वपूर्ण काम फत्य गर्नुपर्ने हुन्छ ।

आफ्नो मूलधर्मको रक्षा

कुनै पनि समाचार माध्यमको मूलधर्म सत्यतथ्यको निष्पक्ष प्रस्तुति हो । झन् त्यसमा पनि सबै समाचार माध्यमका लागि समाचारको मुख्य मुहानको रुपमा रहेको समाचार एजेन्सीका लागि त सत्यतथ्य धर्ममात्र नभई प्राण नै हो । आजको पत्रकारिता विश्वसनीयताको खडेरीबाट ग्रस्त हुँदै गएको छ । डिजिटल मिडिया, सोसियल मिडिया छिटो सन्देश सम्प्रेषण गर्ने होडबाजीमा निकै तीव्र देखिए पनि विश्वसनीयताको सवालमा भने खरो उत्रिन सकेका छैनन् । यो अवस्थामा समाचार एजेन्सीहरूलाई अन्य मिडियालाई जस्तो तीव्र सन्देश सम्प्रेषण गर्ने नाममा सत्यतथ्यबाट टाढा रहेका विषय पनि आम जनमानसमा पस्कने छुट छैन । त्यसैले राससले पनि सत्यतथ्यमात्र निष्पक्ष रूपमा सम्प्रेषण गर्ने आफ्नो मूलधर्मको रक्षा जसरी पनि गर्नुपर्छ, चाहे त्यसका लागि जस्तोसुकै मूल्य चुकाउनु किन नपरोस् । रासस यो मूलधर्म निर्वाह गर्नमा चुक्यो भने अरु खुद्रा काममा जति राम्रो देखिए पनि त्यसको खासै अर्थ रहँदैन । यद्यपि, सत्यतथ्य र निष्पक्षताको यो मूलधर्म निर्वाह गर्न सहज भने छैन । यसका लागि संस्थाको नेतृत्व तहदेखि स्थलगत तहसम्म उच्च नैतिक मनोबल र व्यावसायिक दक्षता अपरिहार्य हुन्छ ।
 
राससको रणनीतिक योजना

राससले छ दशकदेखि सँगालेको अनुभव, वर्तमान अवस्था र भविष्यको आवश्यकताको गहन विश्लेषण गरी एउटा विस्तृत रणनीतिक योजना (स्ट्राटेजिक प्लान) बनाउनु जरुरी छ । यसमा आगामी २० वर्षमा (अर्थात् २१०० सालसम्ममा) रासस कुन अवस्था र स्तरमा पुग्ने र कसरी पुग्ने भन्ने स्पष्ट लक्ष्य निर्धारण गरिएको हुनुपर्छ । यो २० वर्षलाई विभिन्न चरणमा विभाजन गरी प्रत्येक चरणमा के के गर्ने भनेर रणनीतिक योजनालाई कार्यान्वयन गर्न स्पष्ट कार्ययोजना (एक्सन प्लान) समेत बनाउनु पर्दछ । यसका लागि रासस परिवारका प्रत्येक सदस्य, राससका सेवाग्राही, सम्बन्धित पक्ष, शुभेच्छुक र दूरदृष्टि भएका विशेषज्ञ र अनुभवी विज्ञहरूसँग व्यापक अन्तरक्रिया गर्नुपर्दछ । ती सबै प्रक्रियाबाट प्राप्त निष्कर्षको आधारमा रणनीतिक योजना र कार्ययोजना तयार गरिनुपर्दछ । सरकार वा रासस व्यवस्थापनामा जस्तो परिवर्तन आए पनि रणनीतिक र कार्ययोजनाले निरन्तरता पाउने सुनिश्चित हुनैपर्छ ।

समयको मागअनुसार क्षमता विकास र विस्तार

सूचना तथा सञ्चार प्रविधिमा आएको अकल्पनीय परिवर्तन र विकासलाई आत्मसात् गरी राससले आफूलाई त्यस अनुकूल बनाउन हरदम चनाखो र सक्रिय रहनु पर्दछ । उदाहरणको रुपमा अहिले संसारभरि नै कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स–एआई) अवसर र चुनौतीको रुपमा आएको छ । यसलाई राससले कसरी सदुपयोग गर्ने ? प्रश्न एआईको मात्र हैन, आउँदा दिनहरूमा झन् नयाँनयाँ अवसर र चुनौतीद्वारा रासस अवश्य घेरिनेछ । त्यसलाई सामना गरेर अघि बढ्न राससले अहिलेदेखि नै आफ्नो हरेक क्षमता विकास गर्न सक्षम हुनु अपरिहार्य छ ।

दक्ष जनशक्तिको विकास र सही परिचालन

कुनै पनि संस्थाको सफलता र दिगोपन त्यसमा कार्यरत जनशक्तिको दक्षता र इमान्दारीमा भर पर्दछ । ‘एकपटक सेवा प्रवेश परीक्षा उत्तीर्ण गरी नियुक्ति पाएपछि सधैँको लागि पुग्छ’ भन्ने सोच हाम्रो देशमा व्याप्त रहेको पाइन्छ । यस्तो सोचबाट राससको मानव संशाधन संयन्त्रमात्र मुक्त छैन । तसर्थ, सम्बन्धित व्यक्ति आफैँ पनि र संस्था समेतले आफ्ना जनशक्तिलाई दक्ष बनाउन सधैँ उच्च प्राथमिकता दिनुपर्छ । यसका लागि समय समयमा सान्दर्भिक तालिमहरू आयोजना गर्नु अत्यावश्यक हुन्छ ।

राससको भरतपुर कार्यालयमा बनिरहेको नयाँ भवनलाई तालिम केन्द्रको रूपमा विकसित गर्ने राससको योजना उत्साहजनक छ । यसलाई राससको आन्तरिक तालिममा मात्र सीमित नराखी पत्रकारिता र आमसञ्चारका लागि राष्ट्रिय तालिम केन्द्रकै रूपमा विकसित गर्न सकिन्छ, जसले गर्दा राससको भूमिका र योगदान वृद्धि हुन जान्छ । दक्ष जनशक्तिलाई सही रूपमा परिचालन गर्नु पनि त्यत्तिकै जरुरी छ । राज्यको लगानीबाट राससले तयार गरेका जनशक्ति अन्यत्र परिचालन गर्नु÷गराउनु संस्थाको हितअनुकूल हुँदैन । यसबाट सम्बन्धित व्यक्तिलाई क्षणिक लाभ भएको जस्तो देखिए पनि यथार्थमा संस्था र व्यक्ति दुवैलाई कुनै उल्लेख्य लाभ पुग्न सक्दैन, बरु हानि हुनसक्छ ।

कार्यशैली र कार्यकुलताप्रतिको सजगता

विश्वव्यापी महामारी कोभिडका कारण संसारभरिकै कार्यालयहरूमा काम गर्ने शैलीमा बाध्यतावश परिवर्तन गरियो । अर्थात् सङ्क्रमणबाट जोगिन कार्यालय नगई घरबाटै पनि कम्प्युटर प्रविधिको माध्यमबाट काम गर्न सकिने भयो । कोभिडको सन्त्रास कायम रहेसम्म त यो स्वाभाविकै थियो । तर त्यो सन्त्रास हटिसकेपछि पनि कार्यालय नगई घर वा अन्यत्रबाट काम गर्ने परिपाटी हटेन । यसले विश्वकै कार्यशैलीमा परिवर्तन मात्र ल्याएन, जनशक्तिलाई अल्छी र काममा एकाग्र नहुने बानी बसालिदियो । त्यसको नकारात्मक प्रभाव अहिले धेरै क्षेत्रमा देखिन थालेको छ र त्यसमा मिडिया पनि एक प्रमुख हो ।

अर्कोतर्फ अनलाइन प्रविधिबाट समाचार सम्प्रेषण गर्ने सुविधा प्राप्त भएपछि त्यसको दुरुपयोग भएर एउटा मिडियाको समाचारदाताले तयार पारेका समाचार नै विभिन्न समाचारदाताहरूबीच ‘सेयर’ गर्ने तर स्थलगत रिपोर्टिङमा समाचारदाताहरू  नपुगीकनै समाचार सम्प्रेषण गर्ने चलन व्यापक भएको पाइन्छ । यसले गर्दा मिडियाको विश्वसनीयता र छविमा प्रतिकूल असर परिरहेको छ । यो समस्याबाट रासस मात्र जोगिएको छैन । यसमा विशेषतः प्रत्येक मिडियाका नेतृत्वदायी जिम्मेवार पदाधिकारीहरूले नै यो प्रवृत्तिलाई निरुत्साहित गर्न सक्दछन् । रासस त समाचारको स्रोत नै भएकाले यसका समाचारदाताहरू स्थलगत रिपोर्टिङमा सक्रिय हुनैपर्छ । राससले पनि अरु मिडियाका समाचारदाताहरूका समाचार ‘सेयर’ गरेर राससको बुलेटिन भर्न थाल्यो भने त्यो  ठूलो विडम्बना हुन जान्छ । 

स्वतः सक्रिय पत्रकारिताको खाँचो

राससले आफूलाई औपचारिक, प्रक्रियागत र भनाइमुखी ( हि सेड जर्नालिज्म) समाचारमा मात्र सीमित नराखी अनौपचारिक र आम जनमानससँग प्रत्यक्ष सरोकार भएका विविध विषय र क्षेत्रका समाचारहरू स्वतः सक्रिय पत्रकारिता (प्रो–एक्टिभ जर्नालिज्म)को मान्यताअनुसार स्थलगत रिपोर्टिङ नै गरेर उजागर गर्नु जरुरी छ । यसो गर्न सकिएमा लुकेर वा लुकाएर, दबेर वा दबाएर राखिएका कैयौँ महत्त्वपूर्ण विषयहरू सतहमा आउने छन् । यसले देश र जनताकै हित हुने छभने राससको छविमा पनि सकारात्मक प्रभाव पर्न जानेछ । यसका लागि राससले देशभर छरिएर रहेका आफ्ना जनशक्तिलाई पूर्ण रूपमा परिचालन गर्न सक्नु पर्दछ । 

राससबाट नेपालीका अतिरिक्त अङ्ग्रेजी, अवधी, नेवारी र मैथली भाषामा पनि समाचार बुलेटिन प्रकाशित भइरहेकामा ती बुलेटिनहरू नेपालीबाट अनुदित समाचारहरूमा मात्र सीमित नरही सम्बन्धित भाषामा स्वतन्त्र समाचार सम्प्रेषण गर्ने परिपाटी हुनु आवश्यक छ । यसका लागि सम्बन्धित भाषाको बुलेटिनमा कार्यरत जनशक्तिलाई प्रोत्साहित गर्न सकिन्छ ।

भौतिक सम्पत्तिको संरक्षण, संवर्द्धन र सदुपयोग

राससको महत्व र आवश्यकतालाई दृष्टिगत गरी विगतमै देशका विभिन्न स्थानमा तत्कालीन सरकार, स्थानीय निकाय एवं समुदायको पहलमा राससलाई अमूल्य जग्गा प्राप्त भएको छभने धेरैजसो जग्गामा राससको आफ्नो भवन पनि छ । यस हिसाबले भौतिक सम्पत्तिको सन्दर्भमा राससलाई सम्पन्न मान्नुपर्दछ । तर ती जग्गा र भवनको समुचित संरक्षण, संवर्द्धन र सदुपयोग गर्न अझ धेरै काम गर्न बाँकी छ । चरणबद्ध रूपमा क्रमैसँग ती भौतिक सम्पत्तिको संरक्षण र सदुपयोग गर्नु अत्यन्त जरुरी छ । यसबाट राससको देशव्यापी सञ्जाल फैलाउन सहज हुनेछ ।

आत्मनिर्भरतातर्फ उन्मुख आर्थिक व्यवस्थापनको खाँचो

स्थापना भएदेखि अहिलेसम्म रासस मुलतः राज्यद्वारा प्रदान गरिएको अनुदानमा निर्भर रहेको छ । विश्वका कतिपय समाचार एजेन्सीहरूको पनि विगतको यथार्थ त्यस्तै नै रहेको पाइन्छ । तर उनीहरूले राज्यको अनुदानप्रतिको निर्भरता क्रमशः घटाउँदै आत्मनिर्भर बन्ने नीति अख्तियार गरे र त्यसमा सफल पनि भए । तर राससले सरकारी अनुदानबिना पनि कसरी आफ्नो अस्तित्वलाई कायम राख्न सकिन्छ भन्नेतर्फ सोचेको छैन । एकै पटक सम्भव नभए पनि सरकारमाथिको परनिर्भरता क्रमशः घटाउँदै लान राससले ठोस योजना बनाएर कार्यान्वयन गर्नु अति जरुरी छ । यसका लागि राससले सेवा र गतिविधि विविधीकरण गरी आफ्नो आर्जन क्रमशः वृद्धि गर्दै लानु आवश्यक छ ।

राससको प्रतिष्पर्धा अरु मिडियासँग हुन सक्दैन । किनकि समाचार सम्प्रेषणका लागि निश्चित समय कुर्नुपर्ने चरणबाट रासस अब धेरै अघि बढिसकेको छ । तसर्थ, राससको प्रतिष्पर्धा अरुसँग हैन, आफैँसँग हो । अर्थात् विगतको भन्दा गुणात्मक र सङ्ख्यात्मक दुवै हिसाबले अब्बल समाचार, आलेख, फोटो, अडियो आदि सम्प्रेषण गर्दै अघि बढ्नु राससका लागि अपरिहार्य छ ।
(वरिष्ठ पत्रकार बस्नेत राससका पूर्वमहाप्रबन्धक हुनुहुन्छ)