काठमाडौँ, ७ फागुनः सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले विश्वसनीय, सन्तुलित एवं आधिकारिक समाचार सम्प्रेषण गरी आमजनाताको सुसूचित हुन पाउने हक सुनिश्चित गर्ने कार्यमा राष्ट्रिय समाचार समितिको भूमिका प्रशंसनीय रहेको बताउनुभएको छ ।
राससको ६४औँ वार्षिकत्वसवका अवसरमा शुभकामना व्यक्त गर्दै सचिव अर्यालले भन्नुभएको छ, “राज्य र समाजका हरेक तह र तप्कालाई जोड्ने कार्यमा राष्ट्रिय समाचार समिति अझ बढी सक्रिय एवं समर्पित हुनु पर्दछ । राससको सेवा क्षेत्र विस्तारसँगै अझ सवल, व्यावसायिक र प्रतिस्पर्धी बनी आत्मनिर्भरोन्मुख दिशामा अघि बढ्न व्यवस्थापन सफल हुने विश्वास मैले लिएको छु ।”
नागरिकलाई सूचनाको हक सुनिश्चित गराउन, सामाजिक रुपान्तरणको अभियानमा हातेमालो गर्न र आधिकारिक सूचना सम्प्रेषण गर्नका लागि राससले आफूलाई अग्रमोर्चामा उभ्याउन सक्षम हुने विश्वास व्यक्त गर्दै उहाँले सूचना प्रविधि क्षेत्रमा देखिएका अभूतपूर्व विकासका माझ समायसापेक्ष रुपमा रुपान्तरित भई लोकप्रिय एवं सशक्त सञ्चारमाध्यमका रुपमा रासस अघि बढ्न आवश्यक रहेको बताउनुभयो ।
नेपालका आधिकारीक एवं विश्वसनीय सूचना र सञ्चार सामग्री आफ्नो सञ्जालमार्फत् देशभित्र र विश्वमञ्चमा फैल्याउन राससको प्रयास सराहनीय रहेको उहाँको भनाइ छ । उहाँले राससले यसै वर्षदेखि २४ घण्टे सेवा विस्तार र डेडलाइन हुँदैन भन्ने मान्यतालाई स्थापित गरी समाचारलाई निर्वाध रुपमा सम्प्रेषण गर्ने वातावरण निर्माण गरेको समेत बताउनुभयो । “मातृभाषाको समाचार सेवामार्फत मातृभाषाहरुको संरक्षण, सम्बद्र्धन र विकासमा मद्दत पुगेको छ, मातृभाषाको सेवाबाट ती भाषामा प्रकाशित एवं प्रशारण हुने सञ्चारमाध्यम थप लाभान्वित हुने विश्वास लिएको छु”, सचिव अर्यालले भन्नुभयो ।