फागुन ७, २०८१ बुधबार

गोदावरी (कैलाली), ७ फागुन : सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले नेपाली जनताको ठूलो बलिदान र सङ्घर्षबाट प्राप्त प्रजातन्त्रको प्रवर्द्धनमा सबैको ध्यान जानुपर्ने बताउनुभएको छ । 

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा आज एक सन्देश जारी गर्नुहुँदै उहाँले प्रजातन्त्र स्थापनाका लागि भएका सङ्घर्षमा अमूल्य जीवनको आहुति दिनुभएका सम्पूर्ण ज्ञातअज्ञात सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

सन्देशमा उहाँले जहानियाँ निरङ्कुश शासनविरुद्धको बलिदानीपूर्ण सङ्घर्षबाट प्रजातन्त्र स्थापना भएको ऐतिहासिक दिनको सम्झना सबैले गर्नुपर्ने उहाँले बताउनुभएको छ । उहाँले जारी गनर््ुभएको सन्देशमा भनिएको छ, “प्रजातन्त्र स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पूर्ण अग्रजहरूप्रति सम्मान एवं श्रद्धा प्रकट गर्दछु ।”

उहाँले नेपाली समाजको आधुनिकीकरण, राजनीतिक प्रणालीको लोकतान्त्रिकरण, सामाजिक न्याय र समानतालाई संस्थागत गरी आर्थिक विकास र समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । 

प्रजातन्त्र दिवसले सबै निकायको स्वभाव र चरित्रलाई प्रजातान्त्रिक, जनमुखी र जनमैत्री बनाउँदै लोकतान्त्रिक मूल्यमा आधारित समाज निर्माणका लागि दिशानिर्देश गर्ने उत्सवका रूपमा स्थापित भएको अनुभव लिएको बताउनुभएको छ ।
 
प्रदेश प्रमुख मियाँले संविधानले व्यवस्था गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न, समावेशी लोकतन्त्र, दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि क्रियाशील हँुदै अघि बढ्ने प्रेरणा प्रजातन्त्र दिवसले सबैलाई प्रदान गर्न सकोस् भन्ने कामना पनि सन्देशमा गर्नुभएको छ ।