फागुन ७, २०८१ बुधबार

    किएभ, ७ फागुन : युक्रेनको दक्षिणपश्चिमी बन्दरगाह शहर ओडेसामा रूसले गरेको ‘विशाल’ आक्रमणले ठूलो आवासीय क्षेत्रमा विद्युत आपूर्ति अवरूद्ध भएको छ ।     
     
विद्युत आपूर्ति अवरूद्ध हुँदा उक्त क्षेत्रमा वस्ती अन्धकार बनेको छ भने अत्यधिक चिसाको कारण सामान्य जनजीवन प्रभावित भएको ओडेसाका नगरप्रमुखले बुधबार बताउनुभएको छ ।     
     
नगर प्रमुख गेन्नाडी ट्रुखानोभले टेलिग्राममा भन्नुभएको छ, “शहरको घना बस्ती भएको क्षेत्रमा शत्रुको ठूलो आक्रमणका कारण आवासीय क्षेत्रको ठूलो भागमा बिजुली, पानी र विद्युतको अभावमा अन्य सेवा प्रभावित बनेका छन् ।     
     
उहाँले १४ वटा विद्यालय र ५०० भन्दा बढी घरमा विद्युत् नभएको र कम्तीमा एक जनालाई अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो ।     
     
ट्रुखानोभले आक्रमणको प्रकृतिबारे थप विवरण भने दिनुभएको छैन ।     
     
विगत तीन वर्षदेखि रुसले युक्रेनको ऊर्जा पूर्वाधारका साथै यसका शहर र गाउँहरूलाई लक्षित गर्दै आएको छ।     
     
युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुस र संयुक्त राज्य अमेरिकाले वार्ताका लागि टोली गठन गर्न सहमत भएको एक दिनपछि ओडेसामा आक्रमण भएको हो ।