मोरङ, ९ फागुनः कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ लाई प्रतिस्थापन गर्ने विधेयक, २०८१ प्रदेशसभामा पेस गर्ने निर्णय गरेको छ ।
आज बसेको बैठकले कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जित प्रदेश सार्वजनिक खरिद (दोस्रो संशोधन) नियमावली, २०८१ र सार्वजनिक खर्चको मापदण्ड र मितव्यययितासम्बन्धी (तेस्रो संशोधन) निर्देशिका, २०८१ स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी दिनुभयो ।
गृह मन्त्रालयअन्तर्गतका निकायहरूलाई बजेट बाँडफाँट (सम्बन्धित सुरक्षा निकायबाट बजेट कार्यान्वयन हुने गरी) गर्ने र आन्तरिक मामिला तथा कानुन मन्त्रालयमार्फत प्रदेशस्थित कार्यालयबाट कार्यान्वयन हुने गरी सुरक्षा निकाय एवं उच्च तथा जिल्ला बारको भवन मर्मतका लागि बाँडफाँड भएको बजेट स्वीकृत गर्ने निर्णय भएको छ ।