फागुन २२, २०८१ बिहिबार

काठमाडौँ, २२ फागुनः प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा अधुरा आयोजनालाई पर्याप्त बजेट विनियोजन गर्नुपर्ने धारणा राख्नुभएको छ ।

    दलीय आधारमा आफ्ना धारणा राख्नेक्रममा नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले आगामी आर्थिक वर्षको बजेटमा क्रमागत र अधुरा आयोजनालाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । “अधुरा आयोजना पूरा गर्ने गरी आगामी आर्थिक वर्षको बजेट बनाउन केन्द्रित होऔँ”, सांसद घिमिरेले भन्नुभयो ।
 
    निर्वाचन क्षेत्र रणनीतिक सडक आयोजनाको काम अलपत्र परेको उल्लेख गर्दै सांसद घिमिरेले यी सडक आयोजनाका लागि आगामी आर्थिक वर्षमा पर्याप्त बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । विश्वविद्यालय ऐन चाँडो कार्यान्वयनमा ल्याउनुपर्नेमा उहाँले जोड दिनुभयो । 

बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद लीलानाथ श्रेष्ठले वर्तमान सरकार गठन भएपछि विविध समस्या समाधान भएको दाबी गर्नुभयो । “वर्तमान सरकार बनेपछि उखु किसान, दुग्ध किसानले उत्पादनको भुक्तानी पाएका छन् । विकास निर्माण कम्पनीहरुका रकम भुक्तानी भएका छन्”, उहाँले भन्नुभयो, “अहिलेको सरकार गठन हुँदै गर्दा मुलुकको अर्थतन्त्रको अवस्था अत्यन्त दयनीय थियो । त्यसलाई सही दिशामा ल्याइएको छ ।”

पछिल्लो समय समाजमा अराजकता र उद्दण्डताले प्रश्रय पाएको उहाँको भनाइ छ । “सामाजिक सञ्जालमा हेर्नै नसकिने शब्द लेखिएका छन् । सम्माननीय व्यक्तिहरु माथि सुन्नै नसकिने शब्द प्रयोग भएका छन्,” उहाँले भन्नुभयो । लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको विकल्प नरहेको स्पष्ट पार्दै उहाँले नागरिकको हितका लागि एकजुट भइ अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।  

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद हितबहादुर तामाङले विद्यमान सरकार नेपाली नागरिकप्रति जिम्मेवार र जवाफदेही हुन नसकेको आरोप लगाउनुभयो । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका विषयमा सरकारले गरिरहेको काम सही नभएको धारणा उहाँले राख्नुभयो । वर्तमान सरकारले आफूले नियुक्ति गरेको मान्छे होइन भन्दैमा घिसिङ माथि अत्याचार गर्न नहुने उहाँको भनाइ छ । त्यसैगरी ‘डेडिकेटेड’ र ‘ट्रङ्कलाइन’को महशुल विवाद टुङ्ग्याउन सरकारले गरिरहेका प्रयास बारे उहाँले प्रश्न गर्नुभयो । संसद्मा विचाराधिन विधेयकमाथिको छलफल र पारित गर्ने प्रक्रियामा शीघ्रता दिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । सङ्घीय निजामती सेवा ऐन, प्रहरीसँग सम्बन्धित विधेयक छिटो टुङ्ग्याउन उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले न्याय निरुपणमा असर पार्ने विषयमा सदनमा छलफल नचल्ने व्यवस्था भएपनि आफ्नो दलको सभापतिको विषयमा संसद्मार्फत् विभिन्न आरोप लगाइएको बताउनुभयो । विभिन्न अदालतमा न्याय निरुपणका रुपमा रहेको रास्वपा सभापति रवि लामिछानेको मुद्दाका बारे संसद्मा अनेक टिकाटिप्पणी हुने गरेको उहाँको भनाइ छ । संसद् माथि सत्ताको छायाँ छ कि भन्ने प्रश्न उठेको पनि खनालले बताउनुभयो । उच्चस्तरीय न्यायिक समिति बनाएर सबै सांसद र राजनीतिमा सक्रिय व्यक्तिको सम्पत्तिको छानबिन गरिनुपर्ने पनि उहाँको भनाइ छ । रास्वपा सभापति रवि लामिछाने माथिको निलम्बन फुकुवा गर्न  उहाँले आग्रह गर्नुभयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले ताप्लेजुङको पाथीभरा क्षेत्रमा पक्राउ परेका ‘नो केबलकार समूह’का व्यक्तिको रिहाइको माग गर्नुभयो । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आजको बैठकमा गलत तथ्य पेश गरेको उहाँको आरोप छ ।

विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई कार्यसम्पादनमा कमजोर देखाएर हटाउन खोजेको सरकारले आफ्ना मन्त्रीहरुको कार्यसम्पादनबारे भने बेवास्ता गरेको लिङ्देनको भनाइ छ ।

“कार्यसम्पादन फाराम ढिला बुझाएकै आधारमा घिसिङलाई अङ्कसमेत नदिई हटाउन खोजिएको छ । तर सरकार र मन्त्रीको कार्यसम्पादन मूल्याङ्कनमा पनि उतीर्ण अङ्क आएको देखिँदैन”, उहाँले भन्नुभयो, “कि त कमजोर मन्त्रीलाई हटाउनुपर्‍यो कि त सरकारले नैतिकताका आधारमा राजीनामा दिनुपर्‍यो ।” सरकारलाई मन नपरेको कुनै निरीह कर्मचारीलाई दण्ड चलाउने काम आफ्नो दललाई मान्य नहुने उहाँको भनाइ छ ।