निजगढ (बारा), २२ फागुनः बारा र रौतहट मधेस प्रदेशस्तरीय प्रधानमन्त्री कप पुरुष छनोट क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेका छन् । कलैया र वीरगञ्जमा आज भएको सेमिफाइनलमा जित निकाल्दै दुवै टोली फाइनलमा प्रवेश गरेका हुन् ।
कलैयाको सिद्धेश्वर खेल मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा बाराले धनुषालाई ८१ रनले पराजित गर्यो । टस जितेर पहिले ब्याटिङ गरेको बाराले ४८.३ ओभरमा सबै विकेट गुमाएर दुई सय १३ रन जोडेको थियो ।
बाराका लागि पवन सर्राफले सर्वाधिक ९३ रन बनाए । प्लेयर अफ द म्याच घोषित पवनले ८३ बलमा नौ चौका र पाँच छक्का प्रहार गरेका थिए । यसैगरी अरनिको यादवले २७, रवि साहले २३ र अनिलकुमार साहले १३ रन जोडे । धनुषाका रुपेश यादवले पाँच विकेट लिए भने हरिशङ्कर साहले तीन विकेट लिएका थिए ।
बाराले दिएको दुई सय १४ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रिएको धनुषा एक सय ३२ रनमै समेटियो । धनुषाका मयन यादवले २२, रंजित यादवले २०, सञ्जन यादव र रुपेश यादवले १८÷१८ रन बनाउँदा अन्य ब्याटर चल्न सकेनन् ।
वीरगञ्ज नारायणी क्रिकेट रङ्गशालामा भएको दोस्रो सेमिफाइनलमा रौतहटले सिरहालाई १७ रनले पराजित गरेको हो । टस जितेर ब्याटिङ रोजेको रौतहटले २७.३ ओभरमा सबै विकेट गुमाएर एक सय दुई रन जोडेको थियो ।
रौतहटका लागि सन्नी साहले २३ रन बनाए भने प्रिन्स यादव, डब्लु मलिक र राज पटेलले समान १५÷१५ रन बनाएका थिए । सिरहाका प्रदीप पासवानले ६ विकेट लिए भने रुपेश सिंहले तीन विकेट हात पारे । रौतहटले दिएको एक सय तीनको सामान्य लक्ष्य पछ्याउन मैदानमा उत्रिएको सिरहा ८५ रनमै समेटियो । सिरहाले २९.५ ओभरमै आफ्नो सबै विकेट गुमाएको थियो । सिरहा दीपेश दासले २० रन बनाउँदा अन्य ब्याटरले सम्मानजनक प्रदर्शन गर्न सकेनन् ।
रौतहटका मोहन घिमिरेले चार, अरविन्द बैठाले तीन र डब्लु मल्लिकले दुई विकेट लिए । चार विकेट लिएका मोहन प्लेयर अफ द म्याच घोषित भए । प्रतियोगिताको फाइनल शुक्रबार वीरगन्जमा हुनेछ । प्रतियोगितामा मधेसको आठ वटै जिल्लाको सहभागिता रहेको थियो । प्रतियोगिताबाट छनौट समितिले १५ सदस्यीय मधेस प्रदेश टिम छनोट गर्ने मधेस प्रदेश क्रिकेट सङ्घका कोषाध्यक्ष सुवास जयसवालले जानकारी दिनुभयो ।