भदौ ९, २०७८ बुधबार

कञ्चनपुर - कृष्ण वैजनाथ बहुमुखी क्याम्पसले वैकल्पिक कक्षा सञ्चालन नगरी पठनपाठनविनै विद्यार्थीहरूबाट क्याम्पसको शुल्क असुल गरेको भन्दै नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ । वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्ने अवस्थामा कक्षा नै सञ्चालन नगरी  क्याम्पसले विद्यार्थीबाट शुल्क असुल गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै संघको इकाइ कमिटीले मंगलवार क्याम्पस प्रमुख गणेश ऐरलाई त्यस विषयमा ध्यानाकषर्ण गराएको हो ।

देशैभरका विभिन्न विद्यालय तथा विश्वविद्यालयहरूमा भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुने अवस्था नरहेको भन्दै उनीहरूले वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरी विद्यार्थीको पठनपाठनलाई सहज बनाउनुपर्ने माग गरेका हुन् । आफूहरूले पटक-पटक आग्रह गर्दासमेत वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन नगरेको भन्दै क्याम्पसप्रति संघले आक्रोश पोखेको छ । लामो समयदेखि कुनै पनि वैकल्पिक कक्षा सञ्चालन नगरी क्याम्पसले विद्यार्थीको भविष्यमाथि खेलवाड गरिरहेको नेविसंघ नेता प्रकाश भट्टको आरोप छ । "यथाशीघ्र क्याम्पसले वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गर्न नेपाल विद्यार्थी संघ जोडदार माग गर्दछ" नेपाल विद्यार्थी संघ कृष्ण वैजनाथ बहुमुखी क्याम्पसका अध्यक्ष जनकराज जोशीद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा भनिएको छ "अब वैकल्पिक माध्यमबाट कक्षा सञ्चालन गरी विद्यार्थीको पठनपाठनमा सहजता प्रदान नगरेको खण्डमा नेपाल विद्यार्थी संघले कडा कदम चाल्न सक्ने र उक्त कदमबाट पर्न जाने समपूर्ण क्षतिको जिम्मेवार स्वयम् क्याम्पस प्रशासन हुने छ" । साथै सम्पूर्ण विद्यार्थीहरूलाई अनलाइन कक्षाका लागि नि: शुल्क सिमको पनि व्यवस्था गर्न नेपाल विद्यार्थी संघ झलारीले माग गरेको छ ।