दशरथचन्द (बैतडी), २५ फागुनः दोस्रो संस्करणको उदयदेव प्रिमियर लिग आगामी चैत २२ गतेदेखि सञ्चालन हुने भएको छ । पाटन भ्याली क्रिकेट क्लबले प्रतियोगिताको आयोजना गर्ने निर्णय गरेको क्लबका अध्यक्ष सन्तोष जोशीले बताउनुभयो ।
प्रतियोगितामा सहभागिता जनाउने टोलीले चैत २० गते साँझ ५ बजेसम्म दर्ता गराइसक्नुपर्नेछ । प्रतियोगितामा सहभागिताका लागि रु १३ हजार पाँच सय दर्ता शुल्क तोकिएको छ । प्रतियोगिताको विजेता टोलीले रु एक लाख एक हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले रु ४५ हजार ५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष जोशीले जानकारी दिनुभयो ।
प्रतियोगितामा म्यान अफ द सिरिजलाई रु आठ हजार आठ सय ४८, बेष्ट ब्याट्स्म्यान तथा बेष्ट बलरलाई रु पाँच हजार पाँच सय ५५ र उदयमान खेलाडीलाई रु दुई हजार पाँच सय २५ सहित ट्रफी मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
बैतडीमा रहेका धार्मिक एवं पर्यटकीयस्थलको प्रचारप्रसार तथा स्थानीयस्तरमा खेलको विकास गर्न गत वर्षदेखि क्लबले उदयदेव प्रिमियर लिगको आयोजना गर्दै आएको छ ।