एजेन्सी - २३ वर्षीय रमनजनेया इन्जिनियरिङका टपर विद्यार्थी हुन् । एक उत्कृष्ट इन्जिनियरको भूमिकामा हुनुपर्ने उनी यतिबेला कर्नाटकको कोपाला जिल्लाको टानापुरा गाउँमा दैनिक ज्यालादारीमा काम गरिरहेका छन् ।
मेकानिकल इन्जिनियरिङका टपर विद्यार्थी–जसलाई रोजाइले नभई भाग्यले दैनिक ज्यालादारी बनाइदियो
रमनजनेयाले सन् २०२० मा बेङ्लुरुस्थित जेएसएस एकेडेमी अफ टेक्निलकल एजुकेसनबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका हुन् । इन्जिनियरिङमा ७५ प्रतिशत अंक ल्याएर उत्तीर्ण भएका उनी कलेजमा टपर विद्यार्थीका रूपमा चिनिन्थे । इन्जिनियरिङ अध्ययन सुरु भएपछि उनले असल इन्जिनियर बन्ने, राम्रो पैसा कमाउने र परिवारको खर्च धान्ने सपना देखेका थिए । तर, इन्जिनियरिङ डिग्री हात पारेको केही वर्षपछि उनले जागिर पाउन सकेनन् ।
‘पढाइमा राम्रो स्कोर भएकोले मैले कलेजबाटै जागिरको प्लेसमेन्ट पाउँछु भन्नेमा म शतप्रतिशत विश्वस्त थिएँ । इन्जिनियरिङ विषय पढ्न मैले शैक्षिक ऋण पनि लिएको छु । तर, कोभिडका कारण हाम्रो कलेजमा कुनै पनि कम्पनी आएनन् । बैङलुरुमा भएका थुप्रै कम्पनीमा आवेदन दिए । कुनैले पनि जागिर दिएनन् । शहरमा बस्ने कुनै पनि आधार नभएपछि म गाउँ फर्र्किए । गाउँमै दैनिक ज्यालादारीमा काम गरिरहेको छु,’ उनले भनेका छन् ।
मेकानिकल इन्जिनियरिङका टपर विद्यार्थी–जसलाई रोजाइले नभई भाग्यले दैनिक ज्यालादारी बनाइदियो
रमनजनेयाका बुवाले पनि गाउँमा दैनिक ज्यालादारीको काम गरिरहेका छन् । उनकी आमा बिरामी छिन् । उनका एक भाइ र बहिनीले गाउँमै उच्च शिक्षा हासिल गरिरहेका छन् । हाल उनले गरिरहेको दैनिक ज्यालादारीको काम भने ‘महात्मा गान्धी नेसनल रुरल एम्प्लोएमेन्ट’ कोष अन्तर्गतको हो । सय दिन काम गरेबापत् उक्त कोषले कामदारको रकम बैंक अकाउन्टमा पठाइदिन्छ । सो रकमले उनले आफ्नो परिवारको खर्च धान्दै आएका छन् ।
उक्त कोषबाहेक रमनजनेयाले कृषि फार्ममा पनि दैनिक ज्यालादारीमा काम गरिरहेका छन् । यसबाट कमाएको पैसा भने उनले अन्य प्रतिस्पर्धी परीक्षाको तयारीका लागि बचत गरिरहेका छन् । ‘यदि आइएएस या केएएस भएन भने मैले एफडीए र अन्य सरकारी पदका लागि भिड्नेछु । यहाँ दैनिक ज्यालादारीमा काम गरेर मात्र भविष्य बन्दैन । अहिलेसम्मको पढाइलाई माटोमा मिसाएर मात्र हुँदैन, यही माटोका लागि केही न त गर्नैपर्छ ।’
उनले ८६ प्रतिशत स्कोर ल्याएर प्लस टु टप गरेका थिए । आफ्नो गाउँनजिकै कल्याणी स्टिल्स र किर्लोस्कार प्लान्ट जस्ता केही औद्योगिक क्षेत्र भएकोले रमनजनेयाले इन्जिनियरिङ अध्ययनपश्चात गाउँकै कम्पनीमा जागिर गर्ने उद्देश्यले मेकानिकल इन्जिनियरिङ विषय रोजेका थिए । तर, उनको रोजाइभन्दा पर भाग्यले अरू नै योजना बुनेको रहेछ । गाउँमा एक उत्कृष्ट र असल इन्जिनियर बन्ने सपना बुनेर इन्जिनियरिङ रोजेका उनले भाग्यबस दैनिक ज्यालादारीमा काम गर्नुपरेको छ । हाल रमनजनेयाले दैनिक ज्यालादारी स्वरूप २ सय ८९ भारु कमाउँछन् ।