मोरङ, २५ फागुन : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीयता कार्यान्वयनमा तीन तहका सरकारको महत्वपूर्ण भूमिका आवश्यक रहेको बताउनुभएको छ ।
विराटनगरमा मुख्य न्यायाधिवक्ताको कार्यालय स्थापना भएको सातौँ वर्ष पुगेको अवसरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले केन्द्रमा भएको कतिपय क्षेत्रहरु प्रदेशलाई हस्तान्तरण भएमा सङ्घीयताको सबल कार्यान्वयनमा सहज हुने धारणा राख्नुभयो । आफ्नो स्रोत र साधनलाई अधिकतम उपयोग गरी प्रदेशको समृद्धि र जनताको जीवनस्तर उकास्न कार्य गरिरहेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले भन्नुभयो, “अब हामी आफ्नै प्रयत्नमा उत्पादन र स्वरोजगारमूलक बजेट बनाएर काम गर्ने तयारीमा छौँ ।”
छलफलमा भाग लिँदै वरिष्ठ अधिवक्ता टिकाराम भट्टराई र डा सोमलाल सुवेदीले संविधानका धेरै विषय र अनुसूचीलाई परिवर्तन गरेर संविधान कार्यान्वयन गरी व्यवहारमा उतार्न आवश्यक भएको बताए ।