फागुन २५, २०८१ आइतबार

भक्तपुर, २५ फागुन: उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले खेलकुद स्वस्थ जीवन र देश विकासको आधार भएको बताउनुभएको छ । 

    भक्तपुरको खानोठिमी खेल मैदानमा जिल्ला खेलकुद विकास समितिले आयोजना गरेको तीन दिने जिल्लाव्यापी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलको विकास देश विकासको आधार भएको बताउनुभयो ।

    उपप्रधानमन्त्री सिंहले खेलकुदको विकासले देशको नाम अन्तरराष्ट्रिय जगतमा उच्च राख्न सहयोग पुग्ने भन्दै नेपालमा खेलाडीहरू खेलबाटै आत्मनिर्भर हुन अवस्था बन्न थालेको चर्चा गर्नुभयो । 

    उहाँले विद्यालय तहबाटै खेलकुदको आधार र जग बसाल्न स्थानीय तहले भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

    प्रतियोतिमा उसु, तेकान्दो, कबड्डी, कराते, एथ्लेटिक्स र भलिबल गरी छ खेलमा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा भक्तपुर, मध्यपुर र चाँगुनारायण नगरपाालिकाका आठ सय ५० खेलाडी सहभागी भएका छन् । यहाँ विजयी हुने ९० खेलाडी प्रदेशस्तरीय रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुन पाउने आयोजकले जनाएको छ ।