फागुन २६, २०८१ सोमबार

तम्घास (गुल्मी), २६ फागुन : गुल्मीको धुर्कोट गाउँपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवाबाट आठ सय ७६ जना लाभान्वित भएका छन् । धुर्कोट–३ हाडहाडेमा सञ्चालन गरिएको उक्त सेवाअन्तर्गत चार सय गाईभैँसी र एक हजार तीन सय ५० बाख्राका लागि औँषधि समेत वितरण गरिएको छ । 

दुई सय पाँच किसानलाई पशुसम्बन्धी परामर्श तथा  दुई सय ४७ जनालाई बीउ र मल वितरण गरिएको  वडाध्यक्ष पदम विष्टले जानकारी दिनुभयो । एक सय ७८ जनाको स्वास्थ्य जाँच गरिनुका साथै औँषधि समेत वितरण गरिएको उहाँले बताउनुभयो । यस्तै १६ गर्भवतीको निःशुल्क भिडियो एक्सरे तथा ८० जनाको  आयुर्वेद पद्दतीद्वारा उपचार गरिएको छ । 

शिविरमा २० जनालाई ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्नुका साथै एक सय ३० जनाको आँखा परीक्षण गरिएको वडाध्यक्ष विष्टले बताउनुभयो । पालिकाका सम्बन्धित शाखाका कर्मचारी तथा प्राविधिकले सेवा प्रदान गरेका थिए ।