काभ्रेपलाञ्चोक, २६ फागुन : काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पर्यटकीय नगर धुलिखेलमा ‘जीवित देवता’ को रूपमा पुजिने नवदुर्गा–देवगण ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) आजदेखि मनाइँदै छ ।
परापूर्वकालदेखि मनाइँदै आइएको उक्त जात्राको किंबदन्ती अनुसार धुलिखेलको मुख्य बजारमामा माछा मार्ने जात्रा सकिएलगत्तै नवदुर्गा देवगण श्रीखण्डपुर र चौकोट जाने कार्यक्रम हुन्छ । प्रत्येक वर्ष युवा–विद्यार्थी स्वास्थ्य लाभ र ज्ञान लाभको लागि नवदुर्गा देवगणको आशीर्वाद लिन र सेवा गर्न ङालाकेगु जात्रामा उपस्थित हुने गर्दछन् ।
नगरले नवदुर्गा जात्राको अवसरमा मङ्गलबार स्थानीय पर्वका रूपमा बिदासमेत गरेको छ । धुलिखेलका स्थानीय नवदुर्गा देवगणबाट मुख्य प्रसाद गोका–पञ्चरङ्गी धागो, मोहनी–कालो टीका, पासुका–तीनरङ्गी धागो ग्रहण गरी आफ्नो क्षमताअनुसार दक्षिणा चढाएर देवगणको सेवा गर्ने परम्परा रहेको छ । धुलिखेलका स्थानीय नयाँ घर निर्माण गर्दा र नयाँ व्यापार व्यवसाय सुरू गर्दा नवदुर्गा देवगणलाई स्वागत गरी पूजापाठ गर्नाले घर शान्ति, सुख र व्यापारमा सफलता मिल्ने जनविश्वास रहिआएको छ ।
यस्तै जात्रामा भक्तजनको भौतिक र आर्थिक सहयोगका कारण देवगणको ऋण चुक्ता हुने गरेका भनाइ रहेको पाइन्छ । तत्कालीन ‘श्री ५ को सरकार’ द्वारा धुलिखेल गाविसलाई धुलिखेल नगरपालिका घोषणा गरेको वर्षमा धुलिखेल नगरको आयोजनामा नवदुर्गा देवगणलाई द्यो ब्वयकेगु (ठूलो भोजन ग्रहण) गराइएको थियो । नगरप्रमुख अशोक ब्याञ्जूका अनुसार धुलिखेलका नागरिक नवदुर्गा देवगणलाई आफ्नो कुल देवताको रूपमा पुज्दै आएका छन् । धुलिखेलको मुख्य पर्व र जात्राको रूपमा नवदुर्गाको ङालाकेगु जात्रालाई लिइने ब्याञ्जू बताउनुहुन्छ ।
उक्त जात्रामा नवदुर्गा देवगणलाई नगर कार्यालयको तर्फबाट हरेक वर्ष पञ्चबलि, पोसाक, भाले कुखुरा, अण्डा खुवाउने, किस्ली चढाउने र मुःबाहाँ (सुङ्गुर) बलि दिने गरिन्छ । जात्रामा मानव समाजमा हुने पारिवारिक महत्त्व, नारी क्रोध, दाम्पत्य जीवन, बाल्यपनको चकचके स्वभाव, चेली दुखेसो, सरसफाइ शिक्षा, सामूहिक भावना तथा लक्ष्य, शाकाहारी÷मांसाहारी, नारी सुन्दरता, मायाप्रेम, सम्मान, असत्यमाथि सत्यको विजय, पञ्च रङको महत्त्व आदि विषयवस्तु प्रस्तुत गरिन्छ ।
बाजाको ताल र गीतको बोलमा यस जात्रामा नाङ्गो खुट्टामा नाच तथा नाटकीय शैलीमा प्रदर्शन हुनेगर्छ । ऐतिहासिक यस जात्रालाई दीर्घकालीनरूपमा सञ्चालन गर्न, जात्रा सभ्य र सुरक्षित सञ्चालन गर्न एवं स्थानीय कला र संस्कृतिलाई संरक्षण गर्न स्थानीय सरकारलेसमेत समन्वय गरिरहेको छ । काभ्रेपलाञ्चोकको नाला, बनेपा, श्रीखण्डपुर, चौकोट, पनौतीलगायतका स्थानमा नवदुर्गा देवगणको जात्रा मनाइँदै आइएको छ ।
सांस्कृतिक नगर भक्तपुरको ऐतिहासिक एवं प्रसिद्ध जात्राको रूपमासमेत नवदुर्गालाई लिइने गरिन्छ । मानव समाजमा आधारित नवदुर्गा जात्रा नेपालकै लामो जात्राको रूपमा रहेको दस्तावेजमा उल्लेख गरिएको छ । हरेक वर्ष आठ महिना मकुन्डोसहित ङालाकेगु जात्रा र चार महिना मकुन्डोबिनाको पूजापाठ तथा जात्रा तिथि मिति अनुसार हुने गर्दछ । काठमाडौँको पशुपति, जय बागेश्वरी, मध्यपुर थिमी, टोखा, गोकर्ण, साँखु, साँगा र भक्तपुर नगरभित्र दर्जनौँ स्थानमा ङालाकेगु जात्रा हुने गरेको छ ।
---