चैत १, २०८१ शुक्रबार

सिन्धुली, १ चैतः नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगर समितिको आयोजनामा नगरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको नगरपालिकाका उपप्रमुख मञ्जु देवकोटाले शुभारम्भ गर्नुभयो । 

    उहाँले पहिलो पटक आयोजना गरिएको शिक्षकहरुको प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो । प्रतियोगिताले शिक्षकहरूबीच आत्मीयता, सहकार्य र समझदारी बढाउँदै विद्यालय र समुदायमा सामूहिक भावना बलियो बनाउनेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । 

    खेलकुदले स्वस्थ प्रतिस्पर्धा, अनुशासन, धैर्यता र परिश्रमको महत्व सिकाउने र यो विद्यार्थीका लागि पनि प्रेरणादायी हुने उहाँको भनाइ थियो । प्रतियोगिताले सकारात्मक सन्देश दिएको उहाँले उल्लेख गर्नुभयो । “शिक्षकहरू पठनपाठनमा मात्रै सीमित छैनन् खेलकुद, नेतृत्व, र सामूहिक कार्यमा पनि अब्बल छन् भन्ने प्रतियोगिताले पुष्टि गर्छ”, उहाँले भन्नुभयो । 
    
    प्रतियोगितामा कमलामाई नगरका ११ वटा टोली सहभागी भएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन कमलामाई नगरसमितिका अध्यक्ष दीपककुमार बुढाथोकीले जानकारी दिनुभयो । प्रतियोगितामा पहिलो हुनेले रु २० हजार, दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुनले रु १० हजारका साथै पदक प्रदान गरिनेछ । 

    प्रतियोगिताले विद्यार्थीलाई खेलप्रति आकर्षित गर्ने र खेल संस्कृतिको विकास गर्ने उहाँको भनाइ थियो । प्रतियोगिता सञ्चालनपछि विद्यालयस्तरमा खेल पूर्वाधारको विकास हुने आयोजकको अपेक्षा रहेको उहाँले बताउनुभयो ।