चैत ८, २०८१ शुक्रबार

जनकपुरधाम, ८ चैत : नेपाल मधेशी निजामती कर्मचारी मञ्चको चौथो राष्ट्रिय महाधिवेशन आजदेखि जनकपुरधाममा सुरु भएको छ ।

    ‘सार्वजनिक सेवा प्रवाहमा भरपर्दो साधन समानुपातिक प्रतिनिधित्वको निजामती प्रशासन’ नारासहित आयोजित सो महाधिवेशन तीन दिनसम्म चल्ने छ । नेपाल मधेशी निजामती कर्मचारी मञ्चको केन्द्रिय कार्यसमिति बबरमहल  काठामाडौँद्वारा आयाजित उक्त महाधिवेशनमा ३१ जिल्लाका करिब तीन सय मधेशी निजामती कर्मचारीको सहभागिता रहेको छ ।

    सो महाधिवेशनमा मधेशी कर्मचारीको हकहितका साथै उनीहरुले भोग्नुपरेका समस्याबारे कार्यपत्र प्रस्तुत हुने र त्यसमा छलफल गर्ने तथा नयाँ नेतृत्वको चयन हुने  मञ्चका केन्द्रिय अध्यक्ष ताहिर हुसैनले जानकारी दिनुभयो । विसं २०६२÷ ६३ को  आन्दोलन पश्चात् सुरु भएको मधेश आन्दोलनबाट मधेशीको हकहितका .लागि  मधेशी निजामती कर्मचारी मञ्च गठन भएको हो ।  

    महाधिवेशनको उद्घाटन गर्दे मधेश प्रदेशका सांसद रामआशिष यादवले मधेश आन्दोलन भएको १८ वर्ष वितिसक्दा पनि मधेशीको समस्या जस्ताको त्यस्तै रहेकाले मधेशी समुदाय एक हुनुपर्ने आवश्यक्ता छ भन्नुभयो । 

     कार्यक्रममा मञ्चका उपाध्यक्ष लालबाबु यादव, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष अजय झालगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।