मध्यविन्दु (नवलपरासी), १२ चैतः नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ४२६ जना नयाँ क्षयरोगी भेटिएका छन् । चालु आवको फागुन मसान्तसम्म जिल्लामा ११ जना क्षयरोगीको मृत्यु भएको प्रदेश जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रदेश जनस्वास्थ्य कार्यालय नवलपरासी(बर्दघाट सुस्तापूर्व)का क्षयरोग स्थानीय स्रोत व्यक्ति डिल्लीराम तिवारीले नयाँ क्षयरोगीमध्य १४ जना बालबालिका रहेका जानकारी दिनुभयो । “जिल्लामा अहिले ४२६ जना क्षयरोगीले औषधि सेवन गरिरहनुभएको छ”, उहाँले भन्नुभयो, “औषधि सेवन गरिरहेका क्षयरोगीमध्ये बहुऔषधि प्रतिरोध बिरामी (डिआर) भएका पाँच महिला र चार पुरुषको मध्यबिन्दु प्रादेशिक अस्पतालको क्षयरोग उपचार केन्द्रमा आवासीय रूपमा उपचार भइरहेको छ ।”
जिल्लामा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा ८८ र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा छ जना रहेका तिवारीले बताउनुभयो । उहाँका अनुसार जिल्लामा देखिएकामध्ये ९० प्रतिशतको सफल उपचार भएको छ ।
“जिल्लामा गत आवमा ६०३ जनामा क्षयरोग भेटिँदा २६ जनाको मृत्यु भएको थियो, आव २०७९÷८० मा ५४६ भेटिँदा २१ जनाको मृत्यु भएको थियो भने आव २०७८÷७९ मा ५२९ क्षयरोगी भेटिँदा १९ जनाका मृत्यु भएको थियो”, उहाँले भन्नुभयो, “आव २०७७÷७८ मा जिल्लामा ४१६ मा क्षयरोग देखिएकामा १८ जनाको मृत्यु भएको थियो ।”
क्षयरोगको उपचारका लागि जिल्लामा ६६ डट्स केन्द्र रहेका स्थानीय स्रोत व्यक्ति तिवारीले जानकारी दिनुभयो । मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा डिआर(ड्रक रेसिस्टेन्ट) होस्टेल रहेको बताउँदै उहाँले यहाँ नौ जना डिआर क्षयरोगीको आवासीय रूपमा उपचार भइरहेको जानकारी दिनुभयो ।
“चालु आवको फागुन मसान्तसम्म २७ पुरुष र ११ जना महिला डिआर क्षयरोगी भेटिएका छन् । जसमध्ये नवलपरासी(बर्दघाट सुस्तापूर्व)का आठ जना रहेका छन् भने बाँकी अन्य जिल्लाका हुन्”, उहाँले भन्नुभयो ।
गण्डकी प्रदेशमा डिआर होस्टेल नवलपरासी(बर्दघाट सुस्तापूर्व) सँगै बागलुङ र कास्कीमा पनि रहेका तिवारीले जानकारी दिनुभयो । उहाँका अनुसार क्षयरोगको उपचारका लागि प्रदेशमा ९४५ डट्स केन्द्र छन् । जिल्लामा क्षयरोग खोजपड्ताल कार्यक्रमअन्तर्गत आठवटै पालिकामा चार हजार ४८० जनाको छातीको एक्स–रे गरिएको थियो । तीमध्ये तीन सयको खकार परीक्षण गरिएको थियो ।
क्षयरोग खोजपड्ताल शिविरबाट ८५ जना नयाँ क्षयरोगी भेटिएका प्रादेशिक जनस्वास्थ्य कार्यालयका प्रमुख शैलेन्द्रकुमार सिंहले जानकारी दिनुभयो । “जिल्लामा प्रत्येक वर्ष क्षयरोगीको सङ्ख्या बढ्दै गइरहेको छ”, उहाँले भन्नुभयो, “समयमा उपचार गराएमा पूर्ण रूपमा रोग निको हुने विश्वास जनचेतनामार्फत जागृत गराउँदै रोगीको पहिचान कार्यलाई तीव्रता दिइएको छ ।”
क्षयरोग एक सरुवा रोग हो । यो माइक्रोव्याक्टेरियम ट्युवरकुलोसिसले सूक्ष्म कीटाणुबाट लाग्ने प्रमुख सिंहले बताउनुभयो । उहाँका अनुसार यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वासप्रश्वासका माध्यमबाट सर्दछ । एक जना क्षयरोगीले वर्ष दिनमा १५ जनालाई सार्ने प्रमुख सिंहले बताउनुभयो । बहुऔषधि प्रतिरोध बिरामीको सङ्ख्या बढ्नु क्षयरोग न्यूनीकरणका लागि चुनौती थपिएको उहाँले बताउनुभयो ।
विश्वका आठ देशमा मात्र क्षयरोगका दुई तिहाइ बिरामी छन् । जसमध्ये २८ प्रतिशत भारत, नौ दशमलव दुई प्रतिशत इन्डोनेसिया, सात दशमलव चार प्रतिशत चीन, सात प्रतिशत फिलिपिन्समा रहेका छन् । विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई क्षयरोग जोखिमको ३० देशभित्र राखेको छ ।
सङ्घीय सरकारले क्षयरोग निवारणको लागि आव २०७७÷७८ मा दुई सय ३८ प्रतिलाख जनसङ्ख्यामा नयाँ क्षयरोग हुने दर भएकामा आव २०८२÷८३ सम्ममा एक सय ८१ प्रतिलाख जनसङ्ख्यामा झार्ने लक्ष्य लिएको छ ।
प्रत्येक वर्ष मार्च २४ तारिकका दिन मनाइने विश्व क्षयरोग दिवस नेपालमा पनि सोमबार विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइएको छ । यस वर्षको क्षयरोग दिवसको नारा ‘हो ! हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । लगानीको प्रतिबद्धता र सेवा प्रवाहको सुनिश्चितता, आजको आवश्यकता’ तय गरिएको छ ।