काठमाडौँ, १२ चैत : सरकारले सशस्त्र प्रहरी निरीक्षक स्व दिलबहादुर बडुवालको आश्रित परिवारलाई सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् व्यवस्थापन तथा उद्वारमा खटिने क्रममा बिरामी भइ मृत्यु भएका सशस्त्र प्रहरी निरीक्षक स्व दिलबहादुर बडुवालको आश्रित परिवारलाई रु पाँच लाख उपलब्ध गराउने निर्णय गरेको सशस्त्र प्रहरीका केन्द्रीय प्रवक्ता कुमार न्यौपानेले जानकारी दिनुभयो । विपद् व्यवस्थापनमा योगदान पु-याएबापत् उहाँको परिवारलाई सो रकम उपलब्ध गराउन लागिएको उहाँले बताउनुभयो ।
विपद् उद्धारका समयमा बिरामी भई गत असोज २६ गते नेपाल एपीएफ अस्पताल बलम्बुमा भर्ना गरिएकोमा उपचार क्रममा असोज २८ गते सशस्त्र प्रहरी निरीक्षक बडुवालको निधन भएको थियोे । बर्दिया घर भएका बडुवाल २०५९ साल जेठ १३ गते सशस्त्र प्रहरी सहायक निरीक्षक पदमा भर्ना हुनुभएको थियो ।
सशस्त्र प्रहरी बलले गत असार २ गते काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ आइटी पार्कमा स्थापना गरेको मनसुनजन्य विपद् व्यवस्थापन बेसमा बडुवाल कमाण्डरको रूपमा कार्यरत हुनुहुन्थ्यो ।
विपद् व्यवस्थापनका क्रममा घाइते तथा मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारी र उनीहरुका आश्रित परिवारलाई तत्काल सहयोग रकम उपलब्ध गराउने उद्देश्यले ‘सशस्त्र प्रहरी बल नेपाल विपद् प्रकोप राहत कोषसम्बन्धी मापदण्ड २०८१’ सञ्चालन गरिरहेको छ ।
उक्त कोषबाट तीन जना सशस्त्र प्रहरी कर्मचारीका आश्रित परिवारलाई रु पाँच लाखका दरले २० लाख रूपैयाँ सहयोग रकम उपलब्ध गराइसकेको सशस्त्र प्रहरीले जनाएको छ ।