चैत १२, २०८१ मंगलबार

काठमाडौँ, १२ चैतः न्याय प्रणालीलाई थप सहज र सरल बनाउन अनलाइन प्रणाली शुभारम्भ गरिएको छ । सर्वोच्च अदालतबाट सातै प्रदेशका मुख्य न्यायाधीवक्ताको कार्यालयहरूलाई दिइने पेसीको सूचना पठाउने तथा जिल्ला अदालतहरूले विशेष प्रकृतिको निवेदनउपर कारबाहीमा प्रयोग गरिने अनलाइन प्रणालीको आज शुभारम्भ गरिएको हो । 
    
    अनलाइन प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले न्याय प्रणालीको सुधार गर्नैपर्ने भएको र त्यसका लागि प्रविधिको सुधार अतिआवश्यक भएको उल्लेख गर्नुभयो । “यस कार्यको शुभारम्भपछि न्याय प्रणाली दिगो, भरपर्दो, विश्वसनीय र पारदर्शी हुनेछ भने अनियमितता, विकृति विसङ्गति हटाउन योगदान पुग्नेछ”, उहाँले भन्नुभयो । न्याय प्रणालीमा ‘डिजिटाजेसन’ रुपान्तरण आजको अपरिहार्यता भएको प्रधानन्यायाधीश राउतको भनाइ थियो ।
   
    सर्वोच्च अदालतले न्यायिक सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने तथा अदालतलाई कागज प्रयोग न्यून हुने निकायका रूपमा विकास गर्ने लक्ष्यका साथ सूचना प्रविधिको प्रयोगलाई प्राथमिकतामा राख्दै आएको छ । सर्वोच्च अदालतले अदालतहरूको मुद्दा व्यवस्थापनका अधिकांश कार्य एकीकृत मुद्दा व्यवस्थापन प्रणाली र यसका ढाँचाहरुबाट गर्नेगरी व्यवस्था मिलाइएको जनाएको छ । 

    उक्त प्रणालीमा नयाँनयाँ सेवा थप हुँदै आएकामासर्वोच्च अदालतले हालै तयार पारेको अनलाइन प्रणाली सुरु गरेको हो ।