चैत १२, २०८१ मंगलबार

देउखुरी (दाङ), १२ चैत : ठूलो राप्ती र सानो राप्तीको बीचमा रहेको लमही नगरपालिका–६ ढीकपुरमा २५ बिघा जमिनमा व्यावसायिक केराखेती गरिएको छ । उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाको लगानीमा गरिएको केराखेतीले बाझो जमिन हराभरा भएको छ । 

    सहकारी संस्थाका सचिव विश्वप्रकाश अधिकारीका अनुसार २७७ कित्ता विभिन्न व्यक्तिका नाममा गौचरनका रुपमा रहेको ५२ बिघा जमिनलाई चक्लाबन्दी गरिएको छ । उहाँले भन्नुभयो, “सहकारीले कार्यविधि तयार गरेर चक्लाबन्दी जमिन तयार गर्ने र कृषिमा जोडिने नयाँ कार्यविधिअनुसार केरा खेती गरिएको छ ।” बाँझो जमिनलाई सदुपयोग गर्ने र व्यवसायमा जोडिने उद्देश्यले जमिनको खोजी गर्ने क्रममा राप्ती किनारमा गौचरनमा केराखती थालिएको हो । 

    “जग्गाको मालिक खोज्ने र छलफल गर्ने काम भयो । उहाँहरु सबैले जग्गा सहज रुपमा दिनुभयो”, सचिव अधिकारीले भन्नुभयो । चक्लाबन्दी गरी पाँच वर्षका लागि जमिन भाडामा लिएको उहाँको भनाइ छ । “बलौटे माटो भएकाले यहाँ केराखेती राम्रो हुन्छ”, उहाँले भन्नुभयो । बिरुवा उत्पादन गर्न मालभोग केराखेती गरेको अधिकारी बताउनुहुन्छ । 

    विसं २०८० वैशाखमा चितवनको टाँडी र हेटाँैडाबाट २० हजार बोट ल्याएर केरा रोपिएको हो । रोपेको एक वर्षमा केरा पसाउन सुरु गरेको छ । बिरुवा खरिद गर्न रु ३७ लाख लगानी गरिएको अधिकारीले बताउनुभयो ।  “केराका बिरुवा रेखदेख गर्न पाँच जनालाई रोजगारी दिएका छौँ”, उहाँले भन्नुभयो । 

    अन्य कृषिबाली जस्तो मेहनत गर्न नपर्ने र आम्दानी पनि राम्रो हुने भएपछि गत वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएको अधिकारी बताउनुहुन्छ । एकपटक रोपेपछि धेरै पटक आम्दानी लिन सकिने र अरु कृषिबाली जस्तो दुःख नहुने भएपछि सहकारीले केराखेती गरेको उहाँले बताउनुभयो । 

    उद्यमशील बहुउद्देश्य कृषि सहकारी संस्थाका अध्यक्ष लक्ष्मी शर्माले व्यावसायिक केराखेतीबाट मनग्य आम्दानी गर्न सकिने बताउनुभयो । “स्थानीय खोलाबाट लिफ्टिङ र बोरिङबाट पानीको जोहो भएको छ । लमही विद्युत् प्राधिकारणले विद्युत् विस्तार गरेकाले बिजुलीको समस्या छैन”, उहाँले भन्नुभयो । 

    केराखेतीका लागि देउखुरीमा माटोसँगै सिँचाइको व्यवस्था भएकाले थोरै खेतीबाट पनि पर्याप्त आम्दानी लिन सकिने भएकाले पछिल्लो समय केराखेती गर्ने किसान बढेका कृषि ज्ञान केन्द्र दाङका कृषि अर्थविज्ञ पृथ्वीराज लामिछानेले बताउनुभयो । उहाँका अनुसार जिल्लामा पाँच सय ३० हेक्टर जमिनमा व्यावसायिक केराखेती हुने गरेको छ ।