चैत १२, २०८१ मंगलबार

घोराही (दाङ), १२ चैत : लिग चरणको एक खेल बाँकी छूँदै  नेपाल पुलिस क्लब प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा पुलिसले कर्णाली प्रदेशलाई ४४ रनले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । 

    लमहीको देउखुरी क्रिकेट रङ्गशालामा पुलिसले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा कर्णाली प्रदेशको पारी २४ ओभरमा सबै विकेट गुमाउदै १०३ रनमै समेटियो । कर्णालीका लागि रविन्द्र शाहीले ४९ र अर्जुन घर्तीले ३० रन बनाए । बलिङतर्फ खेलको म्यान अफ दी म्याच घोषित ललितनारायण राजवंशीले ९ ओभरमा ४१ रन खर्चिँदै ६ विकेट लिए । यस्तै सागर ढकालले २ र करण केसीले १ विकेट लिए । 

    यस अघि टस हारेर पहिला ब्याटिङ गरेको पुलिसले ४८ ओभरमा सबै विकेट गुमाउँदै १४७ रन बनायो । पुलिसका लागि अर्जुन साउदले ३६, दिलिप नाथले ३४ र सागर ढकालले अविजित २२ रन बनाए । बलिङतर्फ कर्णाली प्रदेशका अनुज चुनाराले ४, दिवान पुनले ३ तथा दिनेश अधिकारी, दिपेन्द्र रावत र सुनिल धमलाले एक एक विकेट लिए । 

    प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा ८ खेल खेलेको पुलिस क्लब अविजित रहँदै १६ अङ्क बटुलेर शीर्ष स्थानमा छ ।