ढाका, १२ चैत : बङ्गलादेशका पूर्व कप्तान तमिम इकबाललाई घरेलु खेलका क्रममा हृदयघात भएपछि होसमा आउनुभएको र उहाँले परिवारका सदस्यहरूसँग कुरा गरिरहनुभएको क्रिकेट अधिकारीहरूले मङ्गलबार बताएका छन् ।
पचास ओभरको ढाका प्रिमियर डिभिजन क्रिकेट लिगको खेलमा महमदन स्पोर्टिङ क्लबको नेतृत्व गरिरहेका ३६ वर्षीय तमिमलाई सोमबार छातीमा गम्भीर दुखाइ भएपछि नजिकैको अस्पतालमा लगिएको थियो ।
“उहाँ अहिले राम्रो हुनुहुन्छ । उहाँले परिवारका सदस्यहरूसँग कुरा गर्नुभयो र अस्पतालमा केही समय हिँड्नुभयो”, क्लबका अधिकारी तारिकुल इस्लामले भन्नुभयो ।
महमदनका फिजियोथेरापिस्ट एनामुल हकले तमिम स्थिर अवस्था रहेको र छिट्टै अर्को चिकित्सा संस्थानमा स्थानान्तरण गरिने सम्भावना रहेको बताउनुभयो ।
“उहाँको ज्यान बचाउनका लागि हामीले तुरुन्तै अस्पताल जानुपरेको थियो र भाग्यवश हामीले त्यसो ग¥यौँ”, इनामुलले भन्नुभयो ।
तमिमको उपचार भइरहेको क्षेत्रका मेडिकल निर्देशक राजीब हसनले सोमबार पत्रकारहरूलाई बताए अनुसार अस्पताल पुर्याउँदा तमीमको अवस्था गम्भीर थियो ।
धमनीको अवरोध हटाउनका लागि तमिमले शल्यक्रिया गरेर स्टेन्ट लगाउनुपरेको पनि उहाँले बताउनुभयो ।
तमिमको स्वास्थ्य सङ्कटको खबरले क्रिकेट जगतबाट समर्थन पाएको थियो ।
“मेरो भाइ तमिम चाँडै निको होऊन् र खेलमा फर्कून् भनेर कृपया प्रार्थना गर्नुहोस् !”, लामो समयदेखिका टोलीका साथी शकिब अल हसनले सामाजिक सञ्जालमा लेख्नुभयो ।
तमिमको हृदयाघात शकिबको ३८औँ जन्मदिनको दिन नै भयो, तर अलराउन्डर यी खेलाडीले यो समाचारका कारण उत्सवमा आनन्द लिन सक्नुभएन ।
भारतीय क्रिकेटर युवराज सिंहले पनि आफ्नो ‘प्रार्थना र शुभकामना’ दिनुभयो ।
“तिमीले अघि पनि कठिन प्रतिद्वन्द्वीहरूको सामना गरेका छौ र बलियो बनेका छौ, यो पनि त्यस्तै हुनेछ । तिमीलाई चाँडो निको हुने शुभकामना । दृढ रहौ”, युवराजले सामाजिक सञ्जालमा लेख्नुभयो ।
तमीमले सन् २००७ देखि २०२३ सम्म विभिन्न ढाँचामा तीन सय ९१ खेलमा बङ्गलादेशको प्रतिनिधित्व गर्नुभएको थियो र उहाँ एकदिवसीय क्रिकेटमा बङ्गलादेशको कप्तान हुनुहुन्थ्यो ।
उहाँले १५ हजारभन्दा बढी रन बनाउनुभएको छ र तीनै अन्तर्राष्ट्रिय ढाँचामा शतक बनाउने एकमात्र बङ्गलादेशी हुनुहुन्छ ।