भदौ ११, २०७८ शुक्रबार

कोरोना महामारीका कारण लामो समयदेखि बन्द रहेका सप्तरीका विद्यालय सञ्चालन गर्ने तयारी गरिएको छ । स्वास्थ्य मापदण्डको पालना गरी जिल्लाका १८ वटै स्थानीय तहका विद्यालय सञ्चालन गर्न छलफल गर्ने विषयमा स्थानीय तहका प्रमुखहरू छलफलमा जुटेका हुन् ।

जिल्ला समवन्य समितिमा बसेको स्थानीय तहका प्रमुखको बैठकले विद्यालय सञ्चालनबारे छलफल गरेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए । छलफलमा जिल्लामा हाल कोरोना महामारीको सङ्ख्या न्यून देखिएकाले विद्यालय सञ्चालन गर्नेबारे गहन रूपमा बहस भएको जनाउँदै स्वास्थ्य मापदण्डको पालना गरी तत्काल विद्यालय सञ्चालन गर्न सकिने बताए ।

स्वास्थ्य मापदण्डको पालना गरी भौतिकरूपमै विद्यालय सञ्चालन गर्ने गरी छलफल भइरहेको सहभागीले बताएका छन् । कोभिड–१९ का कारण बन्द रहेका विद्यालय जिल्लामा सङ्क्रमणदर घट्दै गएपछि सञ्चालनको तयारी थालिएको जनाइएको छ । लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन पूर्ण रूपले प्रभावित भएको छ ।

विद्यालय बन्दका कारण बालबालिका घरमा पनि पढाइ लेखाइ बन्द गरेर बसेकाले उनीहरूको भविष्य अन्धकारतर्फ गइरहेको अभिभावकको गुनासो छ । साथै विद्यालय बन्द हुँदा अधिकांश युवा लागुऔषधतर्फ आकर्षित भएको देखिएको बताइन्छ । त्यस्तै विद्यालय बन्दका कारण पढाइ छाडेर दिनभरि बालबालिका खेल्नमै रुची राख्नाले उनीहरूको पढाइ प्रभावित भएको शिक्षिका ममता यादवले बताए ।