चैत १३, २०८१ बुधबार

काठमाडौँ, १३ चैतः यही चैत ६ गतेदेखि काठमाडौँ थापागाउँस्थित मण्डला नाटकघरमा जारी ‘नेपाल अन्तरराष्ट्रिय नाट्य महोत्सव (नेटफिस्ट)’ सम्पन्न भएको छ । 

एकसाता चलेको महोत्सवको अन्तिम दिन मङ्गलबार साँझ अमजद परवेजले निर्देशन गर्नुभएको मैथिली नाटक ‘सामा चाको सामा चाको अहिवा हे’ मञ्चन भएको थियो ।  ‘सामाजिक रुपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ नारासँगै सुरू भएको महोत्सवमा रङ्गमञ्चसँगै कला संस्कृति, चलचित्र, मिडिया, नीति, राजनीतिलगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको महोत्सव निर्देशक दयाहाङ राईले जानकारी दिनुभयो । 
 
“महोत्सवमा भएका मञ्चन, प्रस्तुति र दर्शकको उत्साहजनक सहभागिताले निरन्तरता दिन ऊर्जा थपेको छ । हामीलाई पुरानो पुस्ताले आफ्नो ज्ञान र अनुभव हस्तान्तरण गर्ने कोसिस गरेका छौँ । नयाँ पुस्तामा देखिएको ऊर्जा हाम्रो पुस्ताका लागि प्रेरणा हो”, उहाँले भन्नुभयो । 

विश्वभरका कलाकार र नेपाली कलाकारले एक अर्काको कामबाट सिक्ने अभ्यासका रुपमा सञ्चालन भएको महोत्सवमा विभिन्न देशबाट सयभन्दा बढी कलाकार सहभागी भएका थिए । 

बाह्र देशका १७ नाटक सहभागी भएको महोत्सवमा जापान र नेपालको ‘कन्दाता एन्ड शकुन्तला’, भारतको ‘एबओर्जिनल क्राइ’ र ‘तमासा’, चीनको ‘मोचौ मोचौ’, ट्युनिसियाको ‘एसेच’, इरानको ‘एन्टिगोनी’, लिथुवानीया र स्पेनको ‘अराइभ्ड’, चीनको ‘चार्मिङ जिञ्जु ओपेर एपिसोड्स’लगायत मञ्चन भएका थिए ।