चैत १४, २०८१ बिहिबार

चितवन, १४ चैतः किसानका समस्या समाधानका लागि बनेको किसान आयोग समस्या समाधानतर्फ लाग्नुपर्ने किसानले माग गरेका छन् । किसान सूचीकरण कार्यक्रम प्रभावकारी कार्यान्वयनका सम्बन्धमा राष्ट्रिय किसान आयोगले बुधबार यहाँ आयोजना गरेको छलफलका सहभागी किसानले आयोगलाई सहज रुपमा काम गर्ने वातावरण बनाउन माग गरेका हुन् ।
 
सहभागीले किसानको हकहितका विषयमा आवाज उठाउन आयोगलाई आग्रह गरेका छन् । नेपाल किसान महासङ्घ बागमती प्रदेश उपाध्याक्ष प्रतिभा पाण्डेले किसानका उत्पादनको उचित मूल्यका निम्ति आयोगले सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । 

 केन्द्रीय दुग्ध उत्पादक सहकारी सङ्घका उपाध्यक्ष भगिरथ तिमिल्सिनाले किसानका समस्या समाधानमा आयोगले ध्यान दिन नसकेको गुनासो गर्नुभयो । 
 
केरा उत्पादक किसान जनकराज पन्तले किसानको सूचीकरणका लागि स्थानीय तहलाई अधिकार सम्पन्न बनाउन माग गर्नुभयो । 

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका उपसचिव चेतबहादुर रोकाले अहिले नेपालमा २० लाख ७१ हजार १०६ कृषकले सूचीकरणका लागि आवेदन दिएका जानकारी दिनुभयो । बागमती प्रदेशमा तीन लाख २९ हजार ८७६ जना किसान छन् । 
 
देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद पोखरेलले किसानका समस्याप्रति संवेदनशील हुन आयोगलाई आग्रह गर्नुभयो । 

मकवानपुरका जिल्ला समन्वय समिति प्रमुख ललित घलानले किसानका समस्या समाधानका लागि आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । 
 
राष्ट्रिय किसान आयोगका अध्यक्ष प्रेमप्रसाद दङ्गालले किसानका समस्या समाधानका लागि आयोगले सरकारलाई सुझाव दिएको बताउनुभयो ।