चैत १४, २०८१ बिहिबार

भक्तपुर, १४ चैतः नयाँवर्ष २०८२ को अवसरमा ‘नवौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव’ हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले आज पत्रकार सम्मेलन गरी यही चैत २८ देखि आगामी २०८२ सालको वैशाख ७ गतेसम्म महोत्सव गरिने जानकारी दिएको हो ।   

    आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दीप महतले उपभोक्तालाई एकै स्थानमा दैनिक उपभोग्य तथा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा महोत्सव आयोजना गर्न लागिएको बताउनुभयो ।

    महोत्सवमा १५० बढी स्टल रहने जनाइएको छ । स्थानीय उत्पादन, घरेलु उत्पादन, र नगरपालिकाबाट आएका सिफारिसका आधारमा स्थानीय उत्पादन तथा सीप एवं कलाका स्टल निःशुल्क व्यवस्था गरिने आयोजकले जनाएको छ ।

    औद्योगिक उत्पादन, सूचना तथा विज्ञान प्रविधि, प्रविधिसम्बन्धी गतिविधि, अटो मोवाइल, विद्युतीय मेशिन कृषि औजार, मोवाईल तथा ईलेक्ट्रोनिक्स सामान, व्यापार तथा पर्यटकीय प्रर्दशनी, लत्ताकपडा तथा भाडाकुँडा प्रर्दशनी एवं बिक्रीका लागि राखिने छ । 

    महोत्सवमा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको महोत्सवका संयोजक दीपक थापाले जानकारी दिनुभयो । महोत्सवमा जेष्ठ नागरिक, अपाङ्ग र पाँचवर्ष मुनिका बालबालिकालाई प्रवेश निःशुल्क गरिएको उहाँले बताउनुभयो ।