काठमाडौँ, १५ चैतः काठमाडौँ महानगरपालिका–८ ले बछलेश्वरी जात्राका लागि फल्चा र डबली (दवु) निर्माण गरेको छ । पाशुपत क्षेत्रको प्रसिद्ध जात्रा भएर पनि यसको आफ्नै फल्चा थिएन । जात्राको व्यवस्थापनलाई सहज बनाउन फल्चा निर्माण गरिएको वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले जानकारी दिनुभयो ।
फल्चासँगै वडाध्यक्ष सङ्गतले रावण पार्टीको पनि उद्घाटन गर्नुभएको छ । फल्चा र डवली निर्माण गरिएको स्थान सार्वजनिक जग्गा हो । पशुपति क्षेत्र विकास कोषले मोही खडा गरेर व्यक्तिको उपयोगमा लिएको थियो । यसरी निजी प्रयोगमा भएको सार्वजनिक सम्पत्तिलाई वडाले कब्जामुक्त गराएको थियो । यस ठाउँमा ३७ दिनमा फल्चा र डबली निर्माणकार्य सकिएको हो ।
सङ्गत भन्नुहुन्छ, “वडाले फल्चा र डबली बनाएपछि जात्रा सञ्चालन गर्ने खट गुठिले माताको मूर्ति स्थापना गराएको हो, यसबाट लिच्छविकालीन ऐतिहासिक जात्रा तथा सम्पदाको दिगो संरक्षण र उपयोगमा योगदान हुनेछ ।”
यसको लागत रु ३० लाख ८६ हजार रहेको छ । दुई आना जमिनमा रहेको फल्चा दुई तलाको निर्माण गरिएको हो । यस क्षेत्रमा यही चैत १८ गतेसम्म बछलेश्वरी, बज्रेश्वरी एवं आकाश भैरव जात्रा हुनेछ । यो जात्रा विसं १९३६ भन्दा अगाडिबाट सुरूवात भएको मानिन्छ । रावण लङ्का फल्चा १६औँ शताब्दी संरचना मानिन्छ । फल्चा १९९० र २०७२ सालको भूकम्पबाट जीर्ण भएको थियो । तीन तले फल्चा ४४ दिनमा निर्माण सम्पन्न भएको हो ।