चैत १५, २०८१ शुक्रबार

तनहुँ, १५ चैतः आमा र शिशुको स्वास्थ्य सुधारका लागि जिल्लाको व्यास नगरपालिकाले गर्भवतीलाई पोषण भत्ता सुविधा उपलब्ध गराउन थालेको छ । महिलासँग उपमेयर कार्यक्रम’अन्तर्गत सरकारी स्वास्थ्य संस्थामा गर्भ जाँच र सुत्केरी सेवाप्रति आकर्षित गराउन नगरले पोषण भत्ता उपलब्ध गराएको हो । 

    नगरपालिकाका अनुसार गर्भवतीको स्वास्थ परीक्षण नगर्दा र घरमै बच्चा जन्माउँदा आमा र शिशु दुवैको स्वास्थ्यमा समस्या हुने जोखिम भएकाले त्यसको अन्त्यका लागि यो किसिमको कार्यक्रम अघि ल्याइएको हो । नगरपालिकाभित्रका सरकारी स्वास्थ्य संस्थामा जाँच तथा सुत्केरी सेवा लिनेलाई पोषणबापत भत्ता दिइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताउनुभयो । उहाँका अनुसार आमा र शिशु दुवैको स्वास्थ्य सुरक्षाका लागि नगरपालिकाले प्राथमिकता दिएको छ ।

    न्यौपानेले नगरपालिकाको आर्थिक सहयोगमा दमौली अस्पतालमा सुत्केरीको शल्यक्रिया सेवालाई निरन्तर दिन गाइनोलोजिष्ट र एनेस्थेसिस्ट गरी दुई जना चिकित्सकलाई पारिश्रमिक उपलब्ध गराइएको जानकारी दिनुभयो । उहाँका अनुसार सुत्केरी हुनेलाई अस्पताल लैजान र घरमा पु¥याउन निःशुल्क एम्बुलेन्स प्रदान गरिएको छ ।

    स्वास्थ्य संस्थामा जाँच गरेको मातृसेवा कार्डका आधारमा गर्भवतीलाई भत्ता वितरण गरिने नगरपालिकाले जनाएको छ । गर्भवतीलाई समयसमयमा गर्भ जाँच गरी शिशु मृत्युदर न्यूनीकरणमा प्रोत्साहित गर्ने उद्देश्यले प्रोत्साहन पोषण रकम दिइएको उपप्रमुख इन्दिरा दरैले बताउनुभयो । 

    पोषण प्रोत्साहन रकम प्रदान गरी गर्भावस्थामा कुपोषण हुनबाट बचाउन र स्वास्थ्यसम्बन्धी मापदण्डअनुसार गर्भवती जाँच गर्नेलाई प्रोत्साहन स्वरुप गर्भवती पोषण कार्यक्रमअन्तर्गत हातमै नगद रकम प्रदान गर्ने गरिएको दरैले जानकारी दिनुभयो । 

    पहिलोपटक गभर्वती र सुत्केरी हुनेलाई स्वास्थसम्बन्धी ज्ञानको अभाव हुने भएकाले कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो । “गर्भावस्थामा स्वास्थ्य परीक्षण नगर्ने र घरमै असुरक्षित सुत्केरी गराउँदा महिलाको ज्यान जाने खतरा हुने भएकाले यसको अन्त्यका लागि कार्यक्रम सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।

    नगरपालिकाभित्रका सरकारी स्वास्थ्य संस्थाबाट कम्तीमा तीनपटक (४, ६ र ८ महिना) मा गर्भ जाँच गराउनेलाई आठ महिनामा मातृशिशु कार्डका आधारमा जनही रु पाँच हजार वितरण गरिने महिला शाखा प्रमुख राधा आचार्यले जानकारी दिनुभयो । 

    उहाँका अनुसार गत आर्थिक वर्ष र चालु आवको दोस्रो चौमासिकसम्म रु १९ लाख ८० हजार प्रोत्साहन रकम वितरण गरिसकिएको छ । उक्त सुविधा लिन व्यास नगरपालिकामा स्थायी बसोबास र विवाह दर्ताको प्रमाणपत्र पेस गर्नुपर्छ । उहाँले भन्नुभयो, “समयसमयमा गरिने गर्भ जाँचले आमा र शिशु मृत्युदर घट्नुका साथै कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।”

    स्वास्थ्य संस्थामा सुत्केरी गराउनेलाई प्रोत्साहन गर्ने नीति लिएअनुसार पोषण भत्ता वितरण गर्न थालिएपछि स्वास्थ्य संस्थामा परीक्षण र सुत्केरी हुन आउनेको सङ्ख्या बढेको महिला शाखा प्रमुख आचार्यले जानकारी दिनुभयो । संस्थागत सुत्केरीको सङ्ख्या बढाउन यो कार्यक्रम प्रभावकारी देखिएकाले चालु आवमा पनि कार्यक्रमलाई निरन्तरता दिइएको नगरपालिकाले जनाएको छ ।

    नगरपालिकाका अनुसार गत आवमा दुई सय ३० र चालु आवमा एक सय ६६ गरी तीन सय ९६ गर्भवतीलाई रु १९ लाख ८० हजार प्रोत्साहन रकम वितरण गरिएको छ ।