भदौ ११, २०७८ शुक्रबार

करीब १२ वर्ष लामो अभिनय करिअरमा आजसम्म विवादमा समेत नमुछिएकी केकी अधिकारी उमेरले ३२ वर्षकी भए पनि अविवाहित छिन् । केही वर्षयता आफन्त, मिडियाकर्मी र दर्शकबाट विवाहको प्रश्न झेल्दै आएकी उनी आफूलाई विवाहदेखि निकै डर लाग्ने बताउँछिन् ।

केकीले बुधवार आफ्ना यूट्युब च्यानलमा प्रशंसकले सोधेको प्रश्नको जवाफ दिएको भिडियो राखेकी छिन् । जसमा एक प्रशंसकले उनलाई फ्यानसँँग वैवाहिक सम्बन्धबारे जिज्ञासा राखेका छन् । यसमा केकीको जवाफ छ, ‘मलाई विवाह भन्ने चीजसँग डर लाग्छ । त्यसैले बिहे जोसुकैसँग होस् ।

फ्यानलाई म पूजा गर्छु ।’ मन मिले फ्यानसँग विवाह गर्न कुनै आपत्ति नभएको उनको आशय छ । उनले आजसम्म आफूलाई प्रेम प्रस्ताव राख्ने युवकहरूको लिस्ट लामै रहेको पनि बताएकी छन् । फिल्म ‘छ माया छपक्कै’ बाट करिअरमा पहिलो पटक सफलता हाँसिल गरेकी केकीले निषेधाज्ञाभन्दा अगाडि आफ्नो अभिनयमा ‘बोक्सीको घर’ नामक फिल्मको निर्माण गरेकी थिइन् ।

फिल्मको चरित्रका लागि उनले आफ्नो कपालसमेत मुन्डन गरिन् । दशैंअघि उनी फिल्म ‘घिन्ताङ’ को छायाङ्कन सुरु गर्ने तयारीमा छिन् । उनको पाइपलाइनमा फिल्म ‘कहानी तिम्रो मेरो’ पनि छ ।