तनहुँ, १५ चैत : जिल्लाको व्यास–३ देउरालीनगर र ऋषिङ–१ झापुटार जोड्ने सेतीमादी नदीमाथि निर्माणाधीन मोटर गुड्ने पुल निर्माणले गति लिन थालेको छ ।
निर्माण व्यवसायीको ढिलासुस्तीका कारण पुल निर्माण कार्य अलपत्र बन्दै आएको थियो । एक सय ५४ मिटर लामो पुलको चौडाइ नौ दशमलव ५० मिटर रहनेछ । पाइल फाउण्डेशनमा निर्माण हुने पुल स्टील ट्रसको हुनेछ । उक्त पुलको हालसम्म ४५ प्रतिशत बढी भौतिक प्रगति भएको छ ।
स्टील पार्टसको पुल निर्माण हुने भएकाले फेब्रिकेसन कार्य भइसकेको पूर्वाधार विकास कार्यालयकी इञ्जिनियर एवं सूचना अधिकारी सुष्मा पाण्डेले जानकारी दिनुभयो । उक्त पुल दुई स्पामको हुनेछ । “चालु आर्थिक वर्षमा एक स्पाम निर्माण कार्य पूरा हुने लक्ष्य राखिएको छ”, उहाँले भन्नुभयो, “एक स्पामको निर्माण हुने वित्तिकै करिब ६० प्रतिशत कार्य पूरा हुनेछ, आउँदो वर्ष पुल निर्माण सम्पन्न भएर गाडी गुड्न थाल्नेछ ।”
हालसम्म तीन पटक म्याद थप भइसकेको र अन्तिम पटकका लागि विसं २०८२ असोजसम्म म्याद थप गरिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ । गण्डकी प्रदेश सरकारको रू ३२ करोड ४० लाख २७ हजार तीन सय ९४ को लागतमा पुल निर्माण कार्य अघि बढाइएको कार्यालयका प्रमुख इञ्जिनियर रवीन्द्र तिवारीले बताउनुभयो ।
विसं २०८० जेठ ९ गते सम्पन्न गर्नेगरी पुल निर्माणका लागि विसं २०७७ मङ्सिर १९ गते रसुवा इलाइट जेभी काठमाडौँसँग सम्झौता भएको थियो । पुल निर्माणपछि व्यास र ऋषिङका सर्वसाधारणलाई आवतजावतमा सहज हुनेछ । हाल सोही ठाउँमा झोलुङ्गे पुल रहेको छ । त्यसको करिब एक किलोमिटर माथि तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा पक्की पुल निर्माण गरिएको छ ।