भदौ ११, २०७८ शुक्रबार

कोरोना महामारीपछि विश्वका ठूला फिल्म उद्योग मानिने हलिउड र बलिउडमा ओटीटी प्लेटफर्म सिनेमा हलको विकल्पको रूपमा उदाएको छ । महामारीका कारण सिनेमा हल बन्द भएपछि त्यहाँका धेरै आशातित फिल्म सिधै ओटीटीमा रिलिज भए ।

नेपालमा पनि ओटीटी प्लेटफर्म नउदाएका होइनन् । तर, कुनैले नयाँ फिल्म किनेर रिलिज गर्ने साहस र जोखिम उठाउन सकेका छैनन् । यद्यपि, लकडाउनको समयमा केही निर्माताले जोखिम उठाएरै नयाँ फिल्म डिजिटल प्लेटफर्ममा रिलिज गरे ।

कोरोनाका कारण सिनेमा हल बन्द भएपछि गत वर्ष ‘कोपिला र हिरो रिर्टन्स’ फिल्म डिजिटल रिलिज भएका थिए । गत महिना अर्को फिल्म ‘लभ सर्कल’ पनि डिजिटल रिलिज भयो । यसैक्रममा, शुक्रबारबाट फिल्म ‘म त मर्छु कि क्या हो’ पनि ओटीटीमा रिलिज भएको छ ।

हाँस्य कलाकार जोडी सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्देशन, निर्माण र अभिनय गरेको फिल्म ओहो मुभिज एपबाट रिलिज भएको हो । फिल्ममा रवि गिरी, बुद्धि तामाङ, विजय बराल, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइरालालगायतको पनि अभिनय छ ।

२ घन्टा लामो फिल्मलाई प्ले स्टोरबाट ओहो मुभिजको एप डाउनलोड गरेर सःशुल्क हेर्न सकिने सितारामले बताए । एक समयको चर्चित हाँस्यटेलिशृङ्खला ‘मेरी बास्सै’ मा सिताराम र कुञ्जनालाई धुर्मुस र सुन्तलीको चरित्रमा दर्शकले निकै रुचाइएका थिए ।

फिल्ममा पनि सिताराम र कुञ्जना त्यही चरित्र र गेटअपमा देखिएका छन् । तराईका विभिन्‍न स्थानमा खिचिएको फिल्मलाई सुदीप बरालले छायाङ्कन गरेका हुन् । मिलन श्रेष्ठ रहेको फिल्मको स्क्रिनप्ले र डाइलग धुर्मुस-सुन्तली स्वयंले तयार पारेका हुन् ।