भदौ ११, २०७८ शुक्रबार

बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गर्नाका लागि प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष सिफारिस गरेको छ ।

मन्त्रिपरिषद्को सिफारिसलगत्तै प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८६ को उपधारा २ अनुसार प्रदेशसभाको आठौं अधिवेशन बैठक अन्त्य गरेका छन् ।

गत जेठ १६ गतेदेखि सञ्चालनमा आएको प्रदेशसभाको आठौं अधिवेशनले प्रदेश सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरेको थियो । आठौं अधिवेशनमा कुल २४ वटा बैठक बसेको थियो । बैठकले प्रदेश सरकारको आर्थिक ऐन विनियोजन ऐन र प्रदेश सार्वजनिक सडक तथा पारवहनसम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक पारित गरेको थियो ।

त्यस्तै प्रदेश उच्च शिक्षा विधेयक, केही प्रदेश ऐन संशोधनका लागि प्रदेशसभामा प्रस्ताव दर्ता भएको छ भने प्रदेशसभा नियमावली संशोधनका लागि १३ सदस्यीय समिति पनि गठन गरेको छ ।

भदौ २ गते शून्य समय र विषेश समयमा सांसदहरूले धारणा राखे लगत्तै प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित गरेका थिए । सोही दिन बागमती प्रदेशको सरकार पनि परिवर्तन भएको थियो ।