चैत २७, २०८१ बुधबार

गोरखा, २७ चैतः भीमसेनथापा गाउँपालिकाले डढेलो नियन्त्रणको प्रयासस्वरुप पातपतिङ्गर सङ्कलन’ कार्यक्रम कार्यान्वयन गरेको छ । कार्यक्रम कार्यान्वयनसँगै पालिकाले पातपतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार प्रदान गर्ने घोषणा पनि गरेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत चित्रबहादुर अधिकारीका अनुसार पालिकाभित्रका सामुदायिक वनबाट पातपतिङ्गर सङ्कलन गर्नेलाई प्रतिकिलो रु दुईका दरले नगद उपलब्ध गराउने निर्णय भएको छ । पातपतिङ्गर जोकोही, टोल विकास संस्था,  क्लब,  समूह, सहकारी संस्था, निजी फर्म तथा कम्पनीले सम्बन्धित सामुदायिक वन उपभोक्ता समिति तथा वडा कार्यालयसँग समन्वय गरेर सङ्कलन गर्न पाउनेछन् । 

“सङ्कलित पातपतिङ्गर प्राङगरिक मल बनाउन प्रयोग हुन्छ । त्यसको व्यवस्थापन तथा बिक्रीको जिम्मा भने सम्बन्धित सामुदायिक वन तथा वडा कार्यालयलाई दिइनेछ”, प्रशासकीय अधिकृत अधिकारीले भन्नुभयो, “कार्यक्रम नयाँ हो तर यसलाई  अनुकरणीय बनाउने लक्ष्य छ ।” पालिकाबाट अनुगमन गरेपछि मात्र पातपतिङ्गर सङ्कलनबापतको रकम उपलब्ध गराइने छ । 

कार्यक्रमअन्तर्गत हाल गाउँपालिकास्थित अधिकांश वनका पातपतिङ्गर सङ्कलन भइरहेको प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो । यो कार्यक्रमले बनलाई डढेलोबाट जोगाउन मद्दत मिल्ने उहाँको विश्वास छ ।